पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सिआइबीले अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।
वैदेशिक रोजगारी (मलेसिया) जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीविरूद्ध पक्राउ पुर्जी लिइएको हो।
यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई सिआइबीले बुधबार नियन्त्रणमा लिएको थियो।
मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्। ६० वर्षीय शेरबहादुर अछाम, चौरपाटी गाउँपालिका-४ का हुन् भने ६१ वर्षीय रामेश्वर सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका बासिन्दा हुन्।
सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङ पनि पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूविरूद्ध जाहेरी दिएपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो।
सिआइबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ। तर पूर्वमुख्य सचिव अर्याल सम्पर्कविहीन रहेको बताइएको छ।