काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छन्।
बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन्।
उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि सुरू हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उनले बताइन्।
बिहीबार काठमाडौं विश्वकै तेस्रो धेरै वायु प्रदूषित सहरको सूचीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताइन्।
उनले काठमाडौं उपत्याको वायु प्रदूषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरू, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताइन्।
साथै, उनले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरूसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिइन्।
जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ।
उनले ‘रिचार्ज काठमाडौं’ अभियान पनि सँगसँगै अघि बढाइने बताइन्।
जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ। –न्युज एजेन्सी नेपाल