राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि खेलस्थल तथा व्यवस्थापनको तयारी अघि बढाइएको छ।
प्रतियोगिताका लागि आइतबार वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता गराउने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही लगायत सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो।
बैठकले दशौं राष्ट्रिय खेलकुदमा ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको छ। तीमध्ये अधिकांश खेल सुर्खेतमा हुनेछन् भने केही खेल कर्णालीका अन्य जिल्लासहित नेपालगन्जमा सञ्चालन गरिनेछ।
निर्धारित खेलस्थलअनुसार २० खेल पूर्णरूपमा सुर्खेतमा सञ्चालन हुनेछन्। त्यस्तै ८ खेल पूर्णरूपमा सुर्खेतबाहिर हुनेछन् भने ४ खेल सुर्खेतसहित अन्य स्थानमा पनि सञ्चालन हुनेछन्। यसरी ३२ मध्ये २४ खेल विधाका कुनै न कुनै प्रतिस्पर्धा सुर्खेतमा हुनेछन्, जबकि १२ खेल विधाका प्रतिस्पर्धा सुर्खेतबाहेकका स्थानमा पनि हुनेछन्।
कुन खेल कहाँ ?
सुर्खेतमा मात्रै हुने खेलहरू :
एथलेटिक्स, कुश्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोर्ट्स, स्क्वास, रग्बी, साइकलिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो।
अन्य जिल्लामा मात्रै हुने खेलहरू :
• आईटीएफ तेक्वान्दो — दैलेख
• टेबल टेनिस — सल्यान
• बुद्धिचाल — दैलेख
• खो–खो — पश्चिम रुकुम (चौरजहारी)
• सुटिङ — नेपालगन्ज
• पौडी — नेपालगन्ज
• टेनिस — नेपालगन्ज
• आर्चरी — जुम्ला
सुर्खेतसँगै अन्य स्थानमा हुने खेलहरू :
• शारीरिक सुगठन — सुर्खेत/कालिकोट
• जुडो — सुर्खेत/जाजरकोट
• जिम्न्यास्टिक — सुर्खेत/दैलेख
• भारोत्तोलन — नेपालगन्ज/सुर्खेत
यसका अतिरिक्त बैठकले प्रतियोगिता सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त दशौं राष्ट्रिय खेलकुद–२०८३ को बजेट तथा खर्च नर्म्सअनुसार खर्च गर्ने, प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ।
प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्न निजी क्षेत्र तथा सरोकारवाला निकायको सहभागिता बढाउँदै सार्वजनिक–निजी साझेदारीअवधारणा अवलम्बन गर्ने र प्रायोजकसँग समझदारीपत्र गरेर कार्यान्वयनमा लैजाने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विषयगत उपसमिति गठन गर्ने निर्णय भएको छ।
बैठकले दशौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न मूल आयोजक समितिले कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।

