कर्णाली प्रदेशमा आयोजना हुन हुने दसौं राष्ट्रिय खेलकुद २०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औं बोर्ड बैठकले आगामी २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने औपचारिक निर्णय गरेको थियो।
यद्यपि, मुख्य औपचारिक उद्घाटनभन्दा अघि नै विभिन्न १० वटा खेलहरू २०८३ मंसिर ०८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन २०८३ साल मंसिर १६ गते र समापन समारोह मंसिर २७ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना गरिनेछ।
सहभागी टिम, खेलाडी र टोली संरचना
प्रतियोगितामा कुल ११ वटा सहभागी टिमहरू भिड्नेछन्, जसमा सात प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम), तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल - एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेका छन्।
• कुल खेलाडी (प्रति टिम): ६६० जना (३४६ पुरुष र ३१४ महिला खेलाडी)।
• प्रशिक्षक र व्यवस्थापक: प्रत्येक टिमबाट ८१ जना प्रशिक्षक र ४१ जना व्यवस्थापक रहनेछन्।
• टोली नेतृत्व र मेडिकल टिम: १ जना टोली नेता, १ जना टोली उपनेता र ३ सदस्यीय मेडिकल टिम समावेश हुनेछ। मेडिकल टिममा १ जना फिजियोथेरापिस्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
• निर्णायक तथा जनशक्ति: कुल १०७० जना निर्णायक (२९८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक), ३४९ जना स्थानीय सहयोगी तथा ९६ जना खेल संघका प्रतिनिधिहरू परिचालन हुनेछन्।
खेल, इभेन्ट्स र आयोजना स्थलहरूको प्रादेशिक विस्तार
दसौं राष्ट्रिय खेलकुद अन्तर्गत कुल ३२ वटा खेलका ३८४ इभेन्ट्सहरूमा प्रतिस्पर्धा हुनेछ। खेल पूर्वाधारको उपलब्धता अनुसार सुर्खेतसहित छिमेकी जिल्लाहरूका विभिन्न खेल स्थलहरू तय गरिएको छ:
1. सुर्खेत (२३ खेल): मुख्य रंगशाला, कभर्डहल तथा खुल्ला मैदानहरूमा एथलेटिक्स, महिला तथा पुरुष फुटबल, महिला तथा पुरुष क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी (7A side), काँक्रेविहारमा शारीरिक सुगठन र इ-स्पोर्ट्स (होटल सिद्धार्थ) सञ्चालन हुनेछन्।
2. नेपालगञ्ज / बाँके (२ खेल): नेपालगञ्ज पौडी पोखरीमा पौडी र सुटिङ प्रतियोगिता आयोजना हुनेछ।
3. बर्दिया (२ खेल): टेनिस र भुरीगाउँमा खो-खो खेल सञ्चालन हुनेछ।
4. सल्यान (२ खेल): शिन्चु बोर्डिङ स्कूल परिसरमा सेपाकताक्रो प्रतियोगिता हुनेछ।
5. दैलेख (१ खेल): नारायण कभर्डहलमा आई.टी.एफ. तेक्वान्दो आयोजना हुनेछ।
6. कालीकोट (१ खेल): कालिकोट कभर्डहलमा बुद्धिचाल (चेस) प्रतियोगिता सञ्चालन हुनेछ।
7. पश्चिम रुकुम (१ खेल): चौरजहारीमा शारीरिक सुगठनका प्रतिस्पर्धा हुनेछन्।
पदक तालिका तथा नगद पुरस्कारको व्यवस्था
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ काँस्य गरी जम्मा १३३७ वटा पदकहरूका लागि प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रजत र काँस्य पदक विजेताहरूका लागि समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ:
• व्यक्तिगत विधा नगद पुरस्कार: स्वर्ण पदक विजेतालाई रु २० हजार, रजत पदक विजेतालाई रु १५ हजार र काँस्य पदक विजेतालाई रु ८ हजार नगद प्रदान गरिनेछ।
• टिम विधा नगद पुरस्कार: स्वर्ण पदक विजेता टिमलाई रु १५ हजार, रजत पदक विजेता टिमलाई रु १० हजार र काँस्य पदक विजेता टिमलाई रु ८ हजार प्रदान गरिनेछ।
दसौं राष्ट्रिय खेलकुद २०८३: मुख्य विवरण
प्रतियोगिता मिति : २०८३ मंसिर १६ देखि २७ गते (मंसिर ८ गतेदेखि प्रारम्भ)
मुख्य आयोजना स्थल : कर्णाली प्रदेश रंगशाला, वीरेन्द्रनगर, सुर्खेत
सहभागी टिम संख्या : ११ टिम (७ प्रदेश + ३ विभागीय + १ एनआरएनए)
समावेश खेल र इभेन्ट्स : ३२ खेल, ३८४ इभेन्ट्स
खेलाडी संख्या (प्रति टिम) : ६६० जना (३४६ पुरुष, ३१४ महिला)
कुल निर्णायक संख्या : १०७० जना (२९८ अन्तर्राष्ट्रिय, ७७२ राष्ट्रिय)
कुल पदक संख्या : १३३७ (३८४ स्वर्ण, ३८४ रजत, ५६९ काँस्य)
व्यक्तिगत विधा पुरस्कार स्वर्ण : रु २०,००० \ रजत: रु १५,००० \ कास्य : ८०००
टिम विधा पुरस्कार स्वर्ण : रु १५,००० \ रजत: रु १०,००० \कास्य : ८०००

