पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
यसरी सागको मिति तय भएको यो पहिलो पटक भने होइन। सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं सागमा सन् २०२१ मा गर्न गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।
सुरुमा कोभिड १९ तथा त्यसपछि विभिन्न कारणले सागको मिति तय भइरहेको थियो।
पछिल्लो पटक २०८१ को फागुनमा पनि साग गेम्सको मिति तय भएको थियो। त्यतिबेला १४औं साग २०२६ को जनावरी २३ मा सुरु गर्ने भनिएको थियो।
सुरुमा कोभिड-१९ ले साग धकेलिएको सागमा पछिल्लो पटक भने भारतले चासो दिएको छैन। भारतले साग भन्दा पनि एसियाली खेलकुद, कमनवेल्थ र ओलम्पिक खेलमा बढी तयारी गर्न थालेको छ।
त्यसो त पछिल्लो समय भारत र पाकिस्तानले एक अर्का देशमा कुनै पनि खेल खेल्ने गरेका छैनन्। त्यसैले भारतले पाकिस्तानमा गएर साग गेम्स खेल्ने सम्भावना न्यून छ।
सागका ७ देशले भाग लिने यसपटकको सागमा २८ खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलहरु पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने बताइएको छ।
-1787472254.jpg)