दाङको तुलसीपुरमा जेठ २८ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय स्कुल स्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता आयोजना गरिने भएको छ।
नेपाल कराँते महासंघ लुम्बिनीले शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन आयोजना गरी त्यसबारे जानकारी दिएको हो।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष पदम बस्नेतले जेठ २८ गतेदेखि ३१ गते तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा विदेशका गरी झन्डै ६ सय खेलाडी तथा प्रशिक्षक सहभागी हुने जानकारी दिए।
प्रतियोगितामा नेपाल सहित विदेशका समेत गरी झन्डै ८० विद्यालयका खेलाडी सहभागी हुने अनुमान गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित बहुउद्देश्य कबर्ड हलमा प्रतियोगितामा सहभागिताका लागि हालसम्म भारत, बंगलादेश र भुटानका खेलाडीले आफ्नो नाम दर्ता गरिसकेको अध्यक्ष बस्नेतले बताए।
नाम दर्ता गर्ने क्रम जारी रहेको पनि उनले जानकारी दिए।
स्कुल स्तरीय खुला प्रतियोगितामा महिला पुरूष दुबै गरी महासंघको मापदण्ड अनुसार २५ केजी तौल समूहदेखि ८४ केजी तौल समूहका खेलाडीले प्रतिष्पर्धा गर्न पाउने नियम बनाइएको छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशको दाङमा प्रथम अन्तर्राष्ट्रिय स्कुल स्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य बुद्धभूमि चिनाउनु, विभिन्न देशहरूका बीचमा भाइचारा सम्बन्ध कायम गर्नु र नयाँ पुस्ताको कराते तर्फ ध्यानाकर्षण गराउनु रहेको अध्यक्ष बस्नेतले बताए ।
प्रतियोगिता सम्पन्न गर्न कुल साढे ४४ लाख जति खर्च लाग्ने अनुमान गरिएको छ।