सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन्।
यसअघिका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको दाबी गरे।
नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने उनले जिकिर गरे।
उनले भने, ‘अहिलेसम्म हेर्दा सरकारबाट एन्फामा विगतमा धेरै पटक हस्तक्षेप भएको थियो। त्यसमा अहिले एन्फा सम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेका छन्। धेरै उजुरी परेकाले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेका छौँ। विभिन्न उजुरी परेकाले हामीले त्यसलाई अत्यन्त संवेदनशील रूपमा लिएका छौँ। उहाँहरूले छानबिनको प्रतिवेदन बुझाउनेबित्तिकै आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाउने काम पनि गर्छौं। अहिले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन।’
उनले अगाडि भने, ‘विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो। यस पटक पनि उहाँहरूले विश्वकप हेर्न जानबाट रोकियो भनेर गुनासो गरिरहनुभएको छ। एन्फाका पदाधिकारीहरू विश्वकपमा त्यतिखेर जानुहुन्छ, जतिखेर नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेको हुन्छ। नेपालीले विश्वकप नै खेल्नुपर्छ भन्ने कुरा होइन, तर कम्तीमा आशा देखिने अवस्था त हुनुपर्यो। लोकल डिभिजनका प्रतियोगिताहरू समेत नियमित रूपमा भइरहेका छैनन्। भ्रष्टाचार धेरै भइरहेको छ भन्ने प्रश्न उठिरहेको छ। नेपालमा फुटबल अहिलेसम्म अपेक्षित रूपमा विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँ नै छैन।’
उनले अहिले एन्फा सम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे।
एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताए।
फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरू आएपछि विस्तृत छलफल गरिने उनले बताए।
नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभई नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको उनले बताए।
उनले अब बन्ने एन्फा पनि नेपालको फुटबललाई योगदान दिएका, फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तित्वहरूको संस्था बनाइने दाबी गरे। –न्युज एजेन्सी नेपाल