मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णाली प्रदेशका चार जिल्लामा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि दैनिक झन्डै एक हजार एक सय प्रहरी खटिने भएका छन्।
मंसिर ८ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका क्रममा दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहायक प्रवक्ता एसपी रामप्रसाद घर्तीका अनुसार प्रतियोगिता अवधिभर दैनिक झन्डै एक हजार एक सय प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको छ।
सुर्खेतमा आधुनिक रंगशाला निर्माण सम्पन्न भएपछि पहिलोपटक कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो।
त्यसैले सुरक्षा विश्लेषण गरेर दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गर्ने योजना बनाइएको एसपी घर्तीले बताए।
‘अहिलेदेखि नै प्रहरीले सम्भावित ठाउँहरूमा सुरक्षा गस्ती र निगरानी सुरु गरिसकेको छ,’ उनले भने, ‘सुरक्षा समितिका संयोजक तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराम सापकोटा आफैँ पनि विभिन्न मूल समिति र उपसमितिका बैठकमा सहभागी भएर सुरक्षा विश्लेषण गर्ने काम भइरहेको छ।’
एसपी घर्तीका अनुसार प्रतियोगिता अवधिभर तालिमप्राप्त कुकुर, ड्रोन र सिसीटिभी क्यामेरासमेत प्रयोग गरेर सुरक्षा गतिविधिको निगरानी गरिनेछ। सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै पैदल गस्ती र प्रवेश तथा निकासद्वारमा विशेष निगरानी राखिनेछ।
प्रतियोगिताका लागि १८ प्रकारका ड्युटी र १२४ वटा ड्युटी पोस्ट निर्धारण गरिएको छ। ती स्थानमा दैनिक एक हजार ९१ जना प्रहरी खटिने व्यवस्था मिलाइएको छ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि कर्णालीका कालिकोट, दैलेख, सल्यान र रुकुम पश्चिमलगायत जिल्लाबाट समेत प्रहरी परिचालन गर्ने तयारी छ। जसअनुसार कालिकोटबाट ९३, रुकुम पश्चिमबाट १७४, सल्यानबाट ८२, दैलेखबाट १०३ र सुर्खेतबाट ५४० जना प्रहरी खटिनेछन्। त्यस्तै, नेपाल प्रहरी सुरक्षा राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतबाट पाँच जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट दैनिक ९४ जना प्रहरी परिचालन हुनेछन्।
अपुग हुने ४९७ जना जनशक्ति विशेष सुरक्षा गण र कर्णाली प्रदेश गणबाट परिचालन गरिनेछ।
एसपी घर्तीका अनुसार सुर्खेतको छिन्चुदेखि मेहलकुनासम्म अहिलेबाटै सुरक्षा गस्ती तथा सूक्ष्म निगरानी सुरु गरिएको छ।
पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा अन्य जिल्लामा आयोजना हुने खेलका लागि पनि सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा रुकुम पश्चिममा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछन्।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न प्रहरी प्रशासनले समाजका सबै निकायसँग समन्वय र सहकार्य गर्ने एसपी घर्तीले बताए।
कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेल छिमेकी लुम्बिनी प्रदेशमा पनि सञ्चालन गरिने भएका छन्। पौडी र सुटिङका खेल बाँकेको नेपालगञ्जमा तथा टेनिस र खोखोका खेल बर्दियामा आयोजना हुनेछन्। बाँकेस्थित रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी छ भने बर्दिया खोखोका लागि प्रख्यात छ।
आयोजक जिल्ला सुर्खेतमा भने दसौं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये सबैभन्दा धेरै २३ खेल आयोजना गर्ने तय भएको छ।