एसिसी यु-१९ एसिया कपअन्तर्गत आयोजक श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ।
शुक्रबार भएको खेलमा नेपालले दिएको १५९ रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
श्रीलंकाका लागि अभिस्का थिरुन्डुले नटआउट २५ रन जोडे भने विकमासिङ्गघाले ३० रनको योगदान दिए। ओपनिङ ब्याट्सम्यान कमिल मिश्राले सबैभन्दा बढी ५५ रनको योगदान दिए।
बलिङमा नेपालका रासिद खानले २ विकेट लिए। पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन जोड्यो। नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित बनेपछि खेल ४२ ओभरमा झारिएको हो। जसका कारण श्रीलंकाले १५९ रनकै लक्ष्य पाएको थियो।
नेपालका लागि ओपनर रित गौतमले ५४ रन जोडे। उनले ८६ बलमा ४ चौका हिर्काए।
कप्तान ४७ रनको योगदान दिए। उनले ८० बल खेलेर १ चौका हिर्काए।
हरि चौहानले १२ रन र रासिद खानले नटआउट १५ रनको योगदान दिए।
पवन सर्राफ ४ रन, आसिफ शेख ७ रन, भीम सार्की १ रन, कुशल मल्ल २ रन, सागर ढकाल र सूर्य तामाङले १–१ रन जोडे।
बलिङमा श्रीलंकाका दिलसान मधुशंका र नभोद दिनुश्रीले ३–३ विकेट लिए।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
गत असारमा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो।
त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।