भारतको अहमदाबादमा आइतबार भएको न्यूजिल्याण्ड विरुद्धको टी-२० विश्वकप २०२६ को फाइनल खेलमा नियम उल्लंघन गरेको भन्दै भारतीय फास्ट बलर अर्शदीप सिंहलाई जरिवाना गरिएको छ।
अर्शदीपलाई उनको 'म्याच फी' (खेल बापत पाउने रकम) को १५ प्रतिशत जरिवाना गरिएको छ।
खेलको ११औं ओभरमा अर्शदीपले बल समातेर न्यूजिल्याण्डका ब्याटर ड्यारिल मिचेलतर्फ आक्रामक रूपमा फालेका थिए, जुन मिचेलको प्याडमा लागेको थियो।
आइसिसीको नियम अनुसार खेलको क्रममा कुनै पनि खेलाडीलाई खतरनाक वा अनुपयुक्त तरिकाले बल वा अन्य सामग्रीले प्रहार गर्न पाइँदैन।
जरिवानाका साथै उनको अनुशासनको रेकर्डमा एक 'डिमेरिट पोइन्ट' थपिएको छ।
पछिल्लो दुई वर्षमा उनको यो पहिलो गल्ती हो। यदि कुनै खेलाडीको २ वर्षभित्र ४ वा सोभन्दा बढी डिमेरिट पोइन्ट भएमा उनीमाथि खेल खेल्न प्रतिबन्ध लाग्न सक्छ।
अर्शदीपले आफ्नो गल्ती स्वीकार गरिसकेका छन्, त्यसैले यस विषयमा कुनै थप सुनुवाइ आवश्यक पर्दैन। खेल भावना देखाउँदै ओभर सकिएपछि अर्शदीप र मिचेलले हात पनि मिलाएका थिए।
यस फाइनल खेलमा भारतले न्यूजिल्याण्डलाई ९६ रनको भारी अन्तरले पराजित गर्दै कीर्तिमानी तेस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको छ।