इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को उद्घाटन खेल आगामी मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)र सनराइजर्स हैदरावादबीच (एसआरएच) हुने भएको छ।
यो खेल बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा हुनेछ। गत जुनमा आरसीबीको जीतको उत्सव मनाउने क्रममा भएको भागदौडमा ११ जनाको ज्यान गएपछि यस रंगशालामा खेल हुनेबारे केही अन्योल थियो। तर, कर्नाटक सरकारले हालै यसलाई अनुमति दिएको छ। खेलअघि मार्च १३ मा एउटा विज्ञ टोलीले रंगशालाको सुरक्षा र व्यवस्थापनको निरीक्षण गर्नेछ।
उद्घाटन साताको दोस्रो खेल मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच मुम्बईको वानखेडे स्टेडियममा हुनेछ। सुरुवाती दुई दिन एकै दिन दुईवटा खेल हुने छैनन्।
भारतका केही राज्यहरू (पश्चिम बंगाल, तमिलनाडु र असम) मा चुनाव हुन लागेकाले अहिले पहिलो चरणमा २० वटा खेलको मात्र तालिका सार्वजनिक गरिएको छ। यसअघि पनि चुनाव भएका वर्षहरू (२००९, २०१४, २०१९ र २०२४) मा यसरी नै दुई पटक गरेर तालिका सार्वजनिक गरिएको थियो।
पहिलो चरणमा सबै १० टोलीले ४-४ वटा खेल खेल्नेछन्। अप्रिल ४-५ र अप्रिल ११-१२ को सातान्तमा भने एकै दिन दुईवटा खेलहरू हुनेछन्।
यस सिजन केही टोलीले आफ्ना केही खेलहरू अन्य सहरमा पनि खेल्नेछन। राजस्थान रोयल्सका ३ वटा खेल गुवाहाटीमा, आरसीबीका २ वटा खेल रायपुरमा र पञ्जाब किंग्सका ३ वटा खेल धर्मशालामा हुनेछन्।
यो आरसीबीका लागि आईपीएलको उद्घाटन खेल खेल्ने सातौं अवसर हो भने हैदरावादका लागि दोस्रो। यसअघि सन् २०१७ मा पनि यी दुई टोलीबीच सिजनको पहिलो खेल भएको थियो। बाँकी खेलहरूको तालिका चुनावको मिति हेरेर पछि सार्वजनिक गरिनेछ।