आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा सहभागी हुन भारत आएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी, प्रशिक्षक, अफिसियल र उनीहरूका परिवार स्वदेश फर्कन ढिलाइ भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सबैलाई सुरक्षरित सुरुमा स्वेदश फर्काउने प्रयास थालेको बताएको छ।
खाडी क्षेत्रमा जारी संकटले अन्तर्राष्ट्रिय हवाई उडानमा व्यापक अवरोध पुगेको छ। हवाई मार्ग बन्द हुनु, मिसाइलको चेतावनी, रुट परिवर्तन गरिनु, र अन्तिम समयमा व्यावसायिक तथा चार्टर उडानहरू रद्द वा तालिका परिवर्तन हुनु यसका मुख्य कारण भएको आइसिसीको भनाइ छ।
सबै प्रभावित टोलीहरूलाई सकेसम्म चाँडो र सुरक्षित रूपमा घर फर्काउन आइसिसीले एयरलाइन्स, एयरपोर्ट अधिकारी र विभिन्न देशका सरकारसँग निरन्तर समन्वय गरिरहेको आइसिसीको भनाइ छ।
दक्षिण अफ्रिकी टोली आज रातिदेखि स्वदेश फर्कन सुरु गर्नेछ र आगामी ३६ घण्टाभित्र सबै सदस्यहरू प्रस्थान गरिसक्नेछन्। वेस्टइन्डिज टोलीका ९ जना क्यारेबियनतर्फ प्रस्थान गरिसकेका छन् भने बाँकी १६ जना आगामी २४ घण्टाभित्र भारतबाट प्रस्थान गर्ने उडानमा रहनेछन्। अन्य टोलीहरूको उडान पक्का भएपछि थप जानकारी दिने आइसिसीको भनाइ छ।
‘निर्णयहरू केवल सुरक्षा र सम्भाव्यतालाई ध्यानमा राखेर गरिएका हुन्। यस बाहेक अन्य कुनै पनि हल्लामा सत्यता छैन। यसबारे जानकारी नभएका व्यक्तिहरूले फैलाएका गलत कुराहरूले समस्या समाधानमा कुनै मद्दत गर्दैनन्,’ आइसिसीको भनाइ छ।
दक्षिण अफ्रिका र वेस्टइन्डिजका लागि गरिएको व्यवस्था र यसअघि इंग्ल्यान्ड वा अन्य देशका लागि गरिएको व्यवस्था बीच कुनै सम्बन्ध नभएको पनि आइसिसीको भनाइ छ।
यसअघि दक्षिण अफ्रिका र वेस्ट इन्डिजका स्वेदश फर्कन ढिलाइ भएको र इंग्लिस टोलीलाई छिटै फर्कन सहयोग भएको आरोप लागेको थियो।