सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।
सुदूरपश्चिका लागि ओपनिङ ब्याटर विनोद भण्डारीले ३३ रन जोडे। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर सइफ जइबले २१ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ७.४ ओभरमा ५५ रनको साझेदारी भयो। त्यसपछि भने सुदूरका ब्याटर कुनै पनि बेला सम्हालिन सकेनन्।
हर्ष थाकरको बलमा आउट जइब आउट भएपछिको अर्को ओभरमा अमेरिकी ब्याटर हरमित सिंहलाई शेर मल्लले १ रनमै बोल्ड गरे।
मल्लले १२औं ओभरमा विनोद भण्डारीलाई आउट गरेका थिए। अर्को ओभरमा अरनिको यादवले कप्तान दीपेन्द्रसिंह ऐरीलाई शून्यमै आउट गरे। दुई ओभरपछि ब्रान्डन माम्कमलेनलाई ११ रनमा अरनिकोले नै आउट गरेका थिए।
१८औं ओभरमा किशोर महतोले तीन विकेट लिएका थिए। इशान पाण्डेलाई १७ रन र आरिफ शेखलाई ६ रनमा महतोले पेभिलियन फर्काए। पहिलो र तेस्रो बलमा विकेट लिएपछि महतोले अन्तिम बलमा स्टक कुगेलेइनलाई ७ रनमा बोल्ड गर्दा सुदूरपश्चिममाथि जनकपुर हाबी भएको थियो। २०औं ओभरमा पहिलो बलमा नरेन साउदलाई किशोरले ३ रनमा क्याच गराए।
बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए। उनले चार ओभरमा ३५ रन दिए। शेर मल्ल र अरनिको यादवले २-२ विकेट लिए भने हर्ष थाकरले १ विकेट हात पारे।
सुरुवाती चार खेलमा जनकपुरले चारै खेलमा जित निकालेको छ भने अंक तालिकाको शीर्ष स्थानमा छ।
सुदूरपश्चिम भने चार मध्ये तीन खेलमा विजयी भएको छ। सुरुवाती तीन खेलमा विजयी भएको सुदूरपश्चिम अघिल्लो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।