इटालीको क्रिकेट टोलीले भारत र श्रीलंकामा भएको टी-२० विश्वकपमा पहिलो पटक ऐतिहासिक सहभागिता जनाएर फर्किए लगत्तै त्यहाँको क्रिकेट क्षेत्रमा यौन दुर्व्यवहारको गम्भीर आरोपले खैलाबैला मच्चिएको छ।
इटालीको महिला क्रिकेट टोलीकी एक खेलाडीले महिला क्रिकेट संयोजक प्रभात एक्नेलिगोडामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्। यो आरोप सार्वजनिक भएपछि इटालीको क्रिकेट बोर्डले उनलाई निलम्बन गरेको छ। अहिले सरकारी वकिलको कार्यालयले यस विषयमा छानबिन गरिरहेको छ।
बोर्डले जारी गरेको विज्ञप्ति अनुसार, सन् २०२५ मै खेलाडीहरूको सुरक्षा र मर्यादालाई ध्यानमा राख्दै उनलाई सबै प्रकारका जिम्मेवारीबाट तत्कालका लागि निलम्बन गरिएको थियो। ‘यो कदम निष्पक्ष छानबिनका लागि र कसैको व्यक्तिगत प्रतिष्ठामा आँच नआओस् भनेर सावधानीका लागि चालिएको हो,’ बोर्डले भनेको छ।
अर्कोतर्फ, एक्नेलिगोडाका वकिलले भने यी सबै आरोपहरूको खण्डन गरेका छन्। उनले यसको पछाडि अर्कै कुनै स्वार्थ लुकेको दाबी गरेका छन्।
विवादको बीचमा एउटा अचम्मको कुरा के देखिएको छ भने, निलम्बनमा परेकै अवस्थामा पनि एक्नेलिगोडा विश्वकपको समयमा टोलीसँगै देखिएका थिए। बोर्डका मिडिया म्यानेजर रकबीर हसनका अनुसार उनी बोर्डकी अध्यक्ष मारिया लोरेना हाज पाजको साथीका रूपमा त्यहाँ गएका थिए र टोलीमा उनको कुनै आधिकारिक भूमिका थिएन।
यसै बीचमा इटालीको क्रिकेट बोर्डभित्र पनि ठूलो राजनीतिक उथलपुथल सुरु भएको छ। टोली विश्वकपबाट फर्किएपछि अध्यक्ष हाज पाजलाई पदबाट हटाइएको छ भने ६ जना बोर्ड सदस्यहरूले राजीनामा दिएका छन्। यद्यपि, बोर्ड सदस्यहरूको राजीनामा यौन दुर्व्यवहारको घटनासँग सम्बन्धित नभएको बताइएको छ।
यस पटकको टी-२० विश्वकपमा इटालीको पुरुष टोलीले निकै राम्रो छाप छोडेको थियो। इटालीलेय नेपाललाई १० विकेटले हराएर सबैलाई चकित पारेका थिए भने बलियो टोली इंग्ल्याण्डसँग मात्र २४ रनले पराजित भएका थिए। उत्कृष्ट खेल प्रदर्शनको चर्चा भइरहेका बेला यो विवादले इटालीको क्रिकेटलाई प्रभावित पारेको छ।