आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अनिश्चित भएको छ।
मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण लिग-२ को सिरिजलाई पनि असर गर्ने देखिएको हो।
नेपालमा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र ओमानको टोली आउने तालिका छ।
खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि अन्योलता बढेको हो।
सिरिजको आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल भएकाले सिरिजको बारेमा निर्णय गर्ने अधिकार उसैलाई हुन्छ।
त्यसैले स्थिति हेरेर आइसिसीले सिरिजको विषयमा एक-दुई दिनमा निर्णय गर्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले सेतोपाटीलाई बताए।
सिरिजका लागि युएई र ओमानका टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो। अब आइसिसीले सहभागी टोलीसँग सल्लाह गरेर सिरिजको बारेमा निर्णय लिनेछ।
सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको थियो।
लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।