ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ।
खेलको ३९ औं ओभरमा ३२ वर्षीय आघा विवादास्पद ढंगले रनआउट भएका थिए। पाकिस्तानका अर्का ब्याटर मोहम्मद रिजवानले प्रहार गरेको बल नन-स्ट्राइकर एण्डमा रहेका आघासँग ठोक्किएर नजिकै खसेको थियो।
क्रिज बाहिर रहेका आघाले खेल भावना देखाउँदै बल टिपेर बंगलादेशी कप्तान मेहिदी हसन मिराजलाई दिन खोजेका थिए। तर, मेहिदीले आघाभन्दा पहिले नै बल समातेर स्टम्पमा हिर्काइदिए।
मैदानमा रहेका अम्पायर तनवीर अहमदले यो निर्णय थर्ड अम्पायर कुमार धर्मसेनाकहाँ पठाए, जसले आघालाई 'आउट' घोषणा गरे। ६२ बलमा ६४ रन बनाएर खेलिरहेका आघा यो निर्णयबाट निकै रुष्ट बने र मैदानबाट बाहिरिने क्रममा रिसको झोकमा आफ्नो हेल्मेट र ग्लोब्स भुइँमा पछारे।
आघाले आईसीसीको आचारसंहिता उल्लंघन गरेको (खेल सामग्रीको अपमान गरेको) स्वीकार गरेपछि उनलाई आधिकारिक रूपमा चेतावनी दिइएको छ। यसका लागि कुनै छुट्टै सुनुवाई भएन। उनलाई म्याच फिको ५० प्रतिशतसम्म जरिवाना हुन सक्थ्यो, तर यसपटक जरिवानाबाट भने उनी जोगिएका छन्। यद्यपि, उनको अनुशासन रेकर्डमा एक 'डिमेरिट पोइन्ट' थपिएको छ।
खेलपछि आघाले बंगलादेशी कप्तानको व्यवहारप्रति असन्तुष्टि जनाउँदै 'खेल भावना' को कुरा गरे। उनले सन् २०२३ को एसेज सिरिजमा जोनी बेयरस्टो आउट भएको घटना सम्झिँदै भने, ‘मेहिदीले जे गरे त्यो नियमभित्रै होला, तर मेरो ठाउँमा उनी भएको भए म यस्तो गर्ने थिइनँ। हामी खेल भावनामा विश्वास गर्छौं र
पाकिस्तानले पहिले ब्याटिङ गर्दै २७४ रन बनाएको थियो, जसमा आघाले ६४ र रिजवानले ४४ रनको योगदान दिएका थिए। जवाफमा बंगलादेश ११४ रनमै अलआउट भयो।
पाकिस्तानले 'डकवर्थ लुइस' नियमका आधारमा १२८ रनको ठूलो जित निकाल्दै तीन खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ।