नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिको जित-हातर भन्दा पनि देशको जित महत्वपूर्ण हुने बताएका छन्।
पछिल्लो सयम मल्लले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट अलग हुँदै राजनीतिमा होमिएका थिए।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आदिवासी जनजातितर्फको समानुपातिक सूचीमा समेत थिए। प्रतिनिधिसभा निर्वाचन २०८२ मा उनी रास्वपाको चुनावी अभियानमा सक्रिय भएर लागेका थिए।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको थियो। जसमा ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरिएको थियो।
जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो।
जनजातिको पुरुषतर्फ पाँचौ नम्बरमा रहेका कारण मल्ल सिफारिस हुन सकेनन्। पुरुषतर्फ तीन जना मात्र सिफारिसमा परेका छन्।
रास्वपाले समानुपातिकको नाम सिफारिस गरेपछि मल्लले भनेका छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा- मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन। खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
साथै निर्वाचनमा देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण मतदाताहरूमा उनले धन्यवाद व्कय्त गरेका छन्।
साथै उनले आफूलाई समानुपातिकमा नाम राख्न सम्झिएको भन्दै रास्वपा परिवार, कुमार बेन र बालेन शाहलाई पनि धन्यवाद दिएका छन्।
‘मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार-जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।’