मिरपुरमा खेलिएको निर्णायक एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले पाकिस्तानलाई रोमाञ्चक ढंगले पराजित गर्दै शृङ्खला आफ्नो नाममा गरेको छ।
बंगलादेशका तन्जिद हसनको १०७ रन र तास्किन अहमदको ४ विकेटको अगाडि पाकिस्तानका सलमान आगाको १०६ रनको उत्कृष्ट इनिङ्स पनि बेकार साबित भयो।
यो जितसँगै बंगलादेशले ११ वर्षपछि पाकिस्तानविरुद्धको एकदिवसीय शृङ्खला जित्न सफल भएको छ।
पहिले ब्याटिङ गरेको बंगलादेशले २९० रन बनायो। बंगलादेशका लागि ओपनर तन्जिद हसनले १०७ रनको सानदार शतकीय इनिङ्स खेले। यो उनको पहिलो एकदिवसीय शतक हो। उनले सैफ हसनसँग मिलेर १०५ रनको ओपनिङ साझेदारी गरे। खेलको अन्तिम समयमा तौहिद हृदोयले ४८ रन जोडेपछि बंगलादेश बलियो स्थितिमा पुगेको थियो। पाकिस्तानका तर्फबाट ह्यारिस रउफले ३ विकेट लिए।
२९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात निकै खराब रह्यो। तास्किन अहमदले घातक बलिङ गर्दै सुरुवाती ब्याटरहरूलाई सस्तैमा आउट गरेपछि पाकिस्तान ६७ रनमा ४ विकेट गुमाएको नाजुक अवस्थामा पुग्यो।
संकटको बेला मैदान प्रवेश गरेका सलमान आगाले एकतर्फी रूपमा लडाइँ जारी राखे। उनले ९८ बलमा १०६ रन बनाउँदै पाकिस्तानलाई जितको नजिक पुऱ्याएका थिए। उनलाई साद मसूद र शाहिन शाह अफ्रिदीले साथ दिए पनि टोलीलाई जिताउन सकेनन्। आगा ४८औं ओभरमा तास्किन अहमदको चौथो शिकार बनेर आउट भए।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १४ रन चाहिएको थियो। बंगलादेशी बलर ऋषाद हुसेनले बलिङ गरेका थिए। सो ओभरमा क्याच छुट्नु, वाइड बलको रिभ्यु लिनु र ब्याटर रन आउट हुनबाट जोगिनु जस्ता नाटकीय दृश्यहरू देखिए। अन्ततः अन्तिम बलमा शाहिन अफ्रिदी आउट भएसँगै बंगलादेश विजयी भयो।
बंगलादेशका लागि तास्किन अहमद सबैभन्दा सफल बलर रहे, उनले ४ विकेट लिए। मुस्ताफिजुर रहमानले पनि ३ विकेट लिँदै पाकिस्तानको मध्यक्रम ध्वस्त पारे।
खेल सकिएपछि दुईवटा फरक दृश्य देखिए, आफ्नो पहिलो शतकको खुसी मनाइरहेका तन्जिद हसन र शतक बनाएर पनि टोलीलाई जिताउन नसकेकोमा दुखी देखिएका सलमान आगा। यो खेललाई यस वर्षकै उत्कृष्ट एकदिवसीय खेलमध्येको एक मानिएको छ।