तल्लो मूलपानी क्रिकेट मैदानमा भएको मंगलबार फाइनल खेलमा काठमाडौं जिल्लालाई ६ विकेटले पराजित गर्दै ललितपुर जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौं जिल्लाले ४८.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २१० रनको योगफल तयार पारेको थियो। काठमाडौंका लागि ईशान पाण्डेले ६० बलमा ४४ रन र रित गौतमले ६५ बलमा ४२ रन जोडेका थिए। काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका विवेक राना मगरले १९ रन खर्चेर २ विकेट र सूर्या तामाङले २७ रन खर्चेर २ विकेट लिएका थिए।
२११ रनको लक्ष्य पछ्याएको ललितपुरले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ३८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
ललितपुरको जितमा विवेक राना मगरले ८० बलमा अविजित ७३ रनको उत्कृष्ट इनिङ खेले भने सचिन लेखकले ७७ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए। काठमाडौंका तर्फबाट सन्दिप पराजुलीले २ विकेट र धिराज देउवाले १ विकेट लिए पनि ललितपुरका ब्याट्सम्यानहरूलाई रोक्न सकेनन्।
खेलमा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका विवेक राना मगर 'प्लेयर अफ द म्याच' घोषित भए। यो प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको हो।