आइतबार मुम्बईमा भएको आईपीएल २०२६ को खेलमा मुम्बई इन्डियन्सका ब्याटर रोहित शर्मा घाइते भएर मैदान बाहिरिएका छन् भने रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याटर विराट कोहली पनि खुट्टाको चोटका कारण समस्यामा देखिएका छन्।
मुम्बईले २४१ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा पाँचौँ ओभरमा समस्यामा देखिएका थिए।
उनले उपचार गराएर खेल्ने प्रयास गरे पनि सफल भएनन्। ह्यामस्ट्रिङ (तिघ्राको मासु) मा पट्टी बाँधेर उनी १९ रनमै मैदानबाट बाहिरिए। त्यसपछि उनी ब्याटिङ गर्न आएनन् र मुम्बई १८ रनले पराजित भयो।
आरसीबीका विराट कोहली पनि ब्याटिङकै क्रममा १०औँ ओभरतिर बायाँ खुट्टाको गोलीगाँठोको चोटका कारण समस्यामा परेका थिए। चोटका बाबजुद उनले ३८ बलमा ५० रन बनाए।
खेल सकिएपछि कोहली डगआउटमा बसिरहेका देखिएका थिए। आरसीबीका कप्तान रजत पाटीदारले कोहलीको स्वास्थ्यबारे सोधिएको प्रश्नमा उनी अहिले ठीकै रहेको बताएका छन्।
यो जितसँगै ४ खेलमध्ये ३ वटा जितेर आरसीबी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई इन्डियन्स भने ४ खेलमा ३ हार बेहोर्दै तालिकाको आठौँ स्थानमा खुम्चिएको छ।