प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले कीर्तिमानी योगफल जोडेको छ।
मधेश प्रदेशविरूद्ध सोमबार वीगरञ्जमा खेलमा एपिएफका विकेटकिपर ब्याटर आसिफ शेखले दोहोरो शतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले उनको दोहोरो शतकको मद्दतमा ४ विकेटको क्षतिमा ३९० रन जोडेको हो।
प्रधानमन्त्री कपमा आसिफ दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले २०८ रन बनाएका हुन्। रिटायर्ड हट भएका आसिफले १४२ बल खेलेर १५ चौका र १७ छक्का प्रहार गरे।
उनी प्रधानमन्त्री कपमा दोहोरो शतक, एकै खेलमा सर्वाधिक रन, सर्वाधिक चौका, सर्वाधिक छक्कासहितका कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए।
खेलमा आसिफसँगै कप्तान रोहित पौडेल र सन्दीप जोराले अर्धशतक प्रहार गरेपछि एपिएफले प्रधानमन्त्री कपकै सर्वाधिक योगफल ३९० तयार गरेको हो। रोहितले ५५ रन र जोराले ५६ रन बनाए।
एपिएफले यसै संस्करणमा आफूविरूद्ध नेपाल पुलिस क्लबले बनाएको कीर्तिमान तोडेको हो। यसअघि पुलिसले एपिएफविरूद्ध ९ विकेटको क्षतिमा ३५५ रन बनाएको थियो। पुलिसले भने आठ वर्ष पुरानो कीर्तिमान तोडेको थियो। सन् २०१८ मा एपिएफले मधेशविरूद्ध ३३९ रन बनाएर कीर्तिमान बनाएको थियो।
यो संस्करणमा पुलिसले एपिएफको कीर्तिमान तोडे पनि २० दिनमै एपिएफले आफ्नो नाममा रेकर्ड ल्याउन सफल भएको हो।