प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान पक्का गरेको छ।
शीर्ष स्थान पक्का गरेसँगै आर्मीले उपाधि भिडन्त समेत पक्का गरेको छ। अर्को खेलमा मधेश पराजित भएसँगै अब सूदूरपश्चिमले आर्मीसँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।
अन्तिम खेलअघि आर्मीको १५ अंक छ भने सबै खेल खेलेको सुदूरपश्चिमको १२ अंक छ।
आर्मीले सोमबार कोशी प्रदेशलाई १८५ रनको फराकिलो अन्तरले पराजित गर्यो।
आर्मीले ७ खेलमा जित निकाल्दा एक खेल वर्षाले रद्द भएको थियो।
मधेशविरूद्धको पहिलो खेल वर्षकाले रद्द हुँदा एक अंक जोडेको कोशी भने लगातार आठ खेलमा पराजित भयो।
सोमबार जनकपुरमा आर्मीले दिएको ३६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रनमा अलआउट भयो। उसका लागि प्रभात राईले ३८ रन र शिवांस बजगाइँले ३७ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्।
बलिङमा आर्मीका आकाश चन्दले ३ विकेट लिए भने बसिर अहमदको नाममा २ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेटको क्षतिमा ३६२ रनको कीर्तिमानी स्कोर बनायो।
आर्मीका लागि पनि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे। भण्डारीले १५० बलमा २१ चौका र ५ छक्काको मद्दतमा १८९ रन बनाए। भण्डारीले यो संस्करणमा दोस्रो शतक प्रहार गरेका हुन्।
भण्डारीको शतकमा आर्मीले बनाएको ३६२ रन प्रधानमन्त्री कपको दोस्रो सर्वाधिक रन हो।
आर्मीका लागि भण्डारीबाहेक भीम सार्कीले पनि ८० रन बनाए। उनले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।