काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो।
पृथु बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक मानिन्छन्। उनले नेपाल राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान दिएका छन्। मध्यक्रमका भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने बास्कोटा आफ्नो स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणका लागि परिचित छन्। घरेलु क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन्।
कार्यक्रममा बोल्दै बास्कोटाले आफूलाई कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बेसडर बन्न पाउँदा अत्यन्त उत्साहित र गौरवान्वित महसुस भएको बताए। उनले नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै विशेषगरी कर्पोरेट क्षेत्रमार्फत खेलको विकास हुनु सकारात्मक संकेत भएको धारणा व्यक्त गरे। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिए।
उक्त कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. का निर्देशक ज्योति भण्डारीले पृथु बास्कोटालाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, “पृथु जस्ता अनुभवी र प्रेरणादायी खेलाडीको साथले हाम्रो प्रतियोगितालाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं। उहाँको संलग्नताले खेलाडीहरूमा थप ऊर्जा र प्रेरणा मिल्नेछ। साथै, यस लिगमार्फत कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा गरेका छौं।”
कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।