मुम्बईको वानखेडे स्टेडियममा भएको आइपिएल २०२६ को २०औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको खेलका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डले आरसिबीका खेलाडी टिम डेभिड र मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई जरिवाना गरेको छ।
आरसिबीका टिम डेभिडलाई खेलको आचारसंहिता उल्लंघन गरेकोमा म्याच फिको २५ प्रतिशत जरिवाना र एक 'डिमेरिट पोइन्ट' दिइएको छ। अम्पायरको निर्देशन पालना नगरेको (धारा २.४ को उल्लंघन) कारण उनलाई यो सजाय दिइएको हो।
आरसिबीले बलिङ गरिरहँदा १८औँ ओभरमा अम्पायरहरूले बल परिवर्तन गर्ने निर्णय गरेका थिए। तर, डेभिडले अम्पायरले पटक-पटक माग्दा पनि बल फिर्ता नदिई आफैँले चेक गर्न खोजेका थिए।
फेरि अन्तिम ओभरमा पनि उनले बल फिर्ता गर्न ढिलाइ गरे। अम्पायरको कुरा नमानेको यो दोहोरो गल्तीका कारण म्याच रेफ्रीले उनलाई सजाय सुनाएका हुन्। डेभिडले आफ्नो गल्ती स्वीकार गरिसकेका छन्।
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई भने 'स्लो ओभर रेट' (निर्धारित समयमा ओभर नसकेको) का कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
यो सिजनमा उनको टोलीले पहिलो पटक यस्तो गल्ती गरेको हुनाले नियम अनुसार यो जरिवाना तोकिएको हो।