सनराइजर्स हैदराबादले दुई नयाँ खेलाडी प्रफुल हिंगे र साकिब हुसेनको उत्कृष्ट बलिङको मद्दतले राजस्थान रोयल्सको लगातार चार खेलको जितको यात्रालाई पूर्णविराम लगाएको छ।
हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गर्दै आफ्नो दुई खेलको हारको सिलसिला समेत तोडेको छ।
विदर्भका २४ वर्षीय बलर प्रफुल हिंगेले आफ्नो पहिलो खेलमै आइपिएलको १८ वर्षको इतिहासमा नयाँ कीर्तिमान कायम गरे। उनले आफ्नो खेलको पहिलो ओभरमै ३ विकेट लिए, जुन आइपिएल इतिहासमा पहिलो पटक भएको हो।
हिंगेले आफ्नो पहिलो ओभरमा वैभव सूर्यवंशी, ध्रुव जुरेल र लुहान-ड्रे प्रिटोरियसलाई आउट गर्दै राजस्थानको ब्याटिङ लाइन ध्वस्त बनाए। उनले खेलमा कुल ४ विकेट लिए।
अर्का डेब्यू खेलाडी बिहारका साकिब हुसेनले पनि घातक बलिङ गरे। उनले खतरनाक ओपनर यशस्वी जयसवाललाई आउट गर्दै राजस्थानलाई थप संकटमा पारे। हिंगे र साकिबको घातक बलिङका कारण राजस्थानले मात्र ९ रन जोड्दा आफ्ना ५ मुख्य ब्याटर गुमाइसकेको थियो। साकिबले उत्कृष्ट बलिङ गर्दै २४ रन दिएर ४ विकेट चट्काए। यी दुई डेब्यु खेलाडीले मिलेर कुल ८ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको विशाल योगफल खडा गरेको थियो। हैदराबादको जितको आधार इशान किशनले तयार पारेका थिए। उनले मात्र ३० बलमा अर्धशतक पूरा गर्दै कुल ९१ रनको शानदार इनिङ खेले। त्यस्तै हेनरिक क्लासेनले ४० रनको योगदान दिए। राजस्थानका लागि जोफ्रा आर्चरले २ विकेट लिए।
२१७ रनको कठिन लक्ष्य पछ्याएको राजस्थानका लागि डोनोभन फेरेराले ६९ र रविन्द्र जडेजाले ४५ रन बनाउँदै केही आशा जगाएका थिए। तर, सुरुवातमै ५ विकेट गुमाएको दबाबका कारण राजस्थान १५९ रनमा अलआउट भयो।