चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी आइपिएल २०२६ को मैदानमा फर्कन अझै केही समय लाग्ने देखिएको छ।
खुट्टाको पिँधुला को चोटका कारण सिजनको सुरुवाती खेलहरू गुमाएका धोनी अहिले निको हुने प्रक्रियामा छन्, तर उनी पूर्ण रूपमा फिट भइसकेका छैनन्।
कोलकाता नाइट राइडर्सविरुद्धको खेलको अघिल्लो साँझ चेपौक स्टेडियममा धोनीले नेटमा केही समय ब्याटिङ अभ्यास गरे। यद्यपि, उनले तीव्र गतिका बलरहरूको सामना गर्नुको सट्टा कोचिङ स्टाफले हातले फ्याँकेका बलहरू मात्र खेले।
अभ्यासका क्रममा उनले केही सानदार छक्का प्रहार गरे पनि विकेटकिपिङ अभ्यास भने गरेनन्। धोनीले यस सिजनका सुरुवाती चारवटै खेल गुमाइसकेका छन् र मंगलबार कोलकाता विरुद्धको पाँचौँ खेलमा पनि उनी मैदान उत्रने सम्भावना न्यून छ।
मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी मैदान बाहिर भए पनि टोलीमा उनको प्रभाव उत्तिकै बलियो रहेको बताएका छन्।
धोनीको अनुपस्थितिमा यस सिजन चेन्नईका लागि सन्जु सामसनले विकेटकिपिङ गरिरहेका छन् भने जेमी ओभरटनले फिनिसरको भूमिका निभाइरहेका छन्। चेन्नईले सन्जु सामसन र कार्तिक शर्मा जस्ता विकेटकिपरहरूलाई टोलीमा समावेश गरेको छ।
साविक विजेता चेन्नईका लागि यो सिजन सुखद रहेको छैन। हालसम्म खेलिएका चार खेलमध्ये चेन्नईले मात्र एक खेल जितेको छ र टोली अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
चेन्नईका लागि अर्को दुखद खबर नाथन एलिसको स्थानमा टोलीमा आएका अस्ट्रेलियाली बलर स्पेन्सर जोन्सन पनि आफैँ चोटसँग जुधिरहेका छन्। उनी अप्रिल २१-२३ तिर मात्र टोलीसँग जोडिने अपेक्षा गरिएको छ। चेन्नईको बलिङ प्रशिक्षक एरिक सिमोन्सका अनुसार जोन्सन उत्कृष्ट खेलाडी भए पनि उनले यस सिजन कति खेल खेल्न पाउँछन् भन्ने अझै निश्चित छैन।