पाकिस्तान सुपर लिग (पिएसएल) ले जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजराबानीमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धसँगै उनले अब सन् २०२९ सम्म पिएसएल खेल्न पाउने छैनन्।
मुजराबानीलाई पिएसएल टोली इस्लामावाद युनाइटेडले वेस्ट इन्डिजका बलर समर जोसेफको स्थानमा करिब ४० हजार डलर (१ करोड १० लाख पाकिस्तानी रुपैयाँ) मा अनुबन्ध गरेको थियो। दुवै पक्षबीच सर्तहरूमा सहमति भइसकेको थियो, तर अन्तिम सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो।
यसैबीच, भारतीय प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्सले मुस्ताफिजुर रहमानको विकल्पका रूपमा मुजराबानीलाई प्रस्ताव गर्यो।
कोलकाताले उनलाई पिएसएलको तुलनामा चार गुणा बढी अर्थात् १ लाख ६० हजार डलरको प्रस्ताव गरेपछि उनले पिएसएल छाडेर आइपिएल रोजेका थिए।
पाकिस्तान क्रिकेट बोर्डले मुजराबानीले 'आफूले गरेको प्रतिबद्धता पूरा नगरेको' र 'लिगको व्यावसायिक संरचनालाई कमजोर पारेको' आरोप लगाएको छ। पिएसएलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो प्रतिबन्ध लिगको व्यावसायिक वातावरण जोगाउनका लागि आवश्यक थियो। सम्झौताको सम्मान नगर्ने बानीले प्रतियोगिताको प्रतिष्ठामा आँच पुर्याउँछ।’
खेलाडीले पिएसएल छाडेर आइपिएल रोजेको यो पहिलो घटना भने होइन। यसअघि सन् २०२५ मा कोर्बिन बोशले मुम्बई इन्डियन्समा जानका लागि पेशावर जाल्मीसँगको सम्झौता तोड्दा उनलाई एक वर्षको प्रतिबन्ध लगाइएको थियो। मुजराबानीको हकमा भने यो सजाय दोब्बर बनाइएको छ। श्रीलङ्काका कप्तान दासुन शनाकाले पनि यसैगरी पिएसएल छाडेर राजस्थान रोयल्स रोजेका थिए, जसको बारेमा अहिले अनुसन्धान भइरहेको छ।
यस सिजन कोलकाता नाइट राइडर्सका लागि मुजराबानीले दुई खेल खेल्दै सनराइजर्स हैदराबाद विरुद्ध ४ विकेट लिएका थिए। यद्यपि, अप्रिल २ पछि उनले खेल्ने मौका पाएका छैनन्। हाल कोलकाता आइपिएल अंक तालिकाको सबैभन्दा पुछारमा रहेको छ र अहिलेसम्म एउटै खेल जित्न सकेको छैन।