दोस्रो टी-२० मा युएईले नेपाललाई १२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो।
युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रार गरे। उनले नटआउट ५३ रन बनाउने क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान मोहमद वासीमलाई हेमन्त धामीले रोयल डक गरेका थिए। त्यसपछि अलिशन सराफु १ रन र हरप्रित सिंह पनि १ रनमा आउट भए।
सोहब खान र निलान्स केन्वानी पनि डकआउट भएपछि नेपाल हाबी भयो। अदीप उस्मानीले २२ बलमा ३० रन जोडे।
युएई आठ ओभर चल्दै गर्दा ६-४८ को अवस्थामा थियो। त्यसपछि अक्षदीप नाथ र मोहमद अर्फानबीच सातौं विकेटका लागि ६४ रनको साझेदारी भयो।
अर्फान १९ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट समातिए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। लगत्तैको बलमा खुजैमा तन्विरलाई उसैगरी सन्दीपले ऐरीबाट शून्यमा क्याच गराए।
बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा एक मेडनसहित छ रन खर्चिदा तीन विकेट लिन सफल भए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलामको नाममा १-१ विकेट रह्यो।
यसअघि पहिलो टी-२० मा युएईले नेपाललाई ६ विकेटले हराएको थियो। आजको खेल जिते नेपालले सिरिज बराबरी गर्नेछ।