नेपालले युएईविरूद्धको दोस्रो टी-२० खेलमा ८ विकेटको सहज जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जित निकालेसँगै दुई खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालमाथि युएईले ६ विकेटको जित निकालेको थियो।
युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ८४ रन बनाउने क्रममा ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २३ रन जोडे।
त्यसअघि अर्का ओपनर कुशल मल्ल १७ बलमा १९ रन र सन्तोष यादव १ रनमा आउट भएका थिए।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो।
युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रार गरे। उनले नटआउट ५३ रन बनाउने क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान मोहमद वासीमलाई हेमन्त धामीले रोयल डक गरेका थिए। त्यसपछि अलिशन सराफु १ रन र हरप्रित सिंह पनि १ रनमा आउट भए।
सोहब खान र निलान्स केन्वानी पनि डकआउट भएपछि नेपाल हाबी भयो। अदीप उस्मानीले २२ बलमा ३० रन जोडे।
युएई आठ ओभर चल्दै गर्दा ६-४८ को अवस्थामा थियो। त्यसपछि अक्षदीप नाथ र मोहमद अर्फानबीच सातौं विकेटका लागि ६४ रनको साझेदारी भयो।
अर्फान १९ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट समातिए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। लगत्तैको बलमा खुजैमा तन्विरलाई उसैगरी सन्दीपले ऐरीबाट शून्यमा क्याच गराए।
बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा एक मेडनसहित छ रन खर्चिदा तीन विकेट लिन सफल भए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलामको नाममा १-१ विकेट रह्यो।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेलेको हो।
अब नेपालले लिग-२ अन्तर्गत दुई वटा सिरिज आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।
त्रिवि मैदानमा नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म पहिलो सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका अर्को सिरिजमा भिड्नेछन्।