रवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
बुधबार किगालीमा भएको खेलमा नेपालले घरेलु टोली रवाण्डालाई २ विकेटले हराएको हो।
रवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि ओपनर सम्झना खड्काले ४८ रन बनाइन्। उनले ४२ बलमा ७ चौका प्रहार गरिन्।
विन्दू रावालले १० रन र पूजा महतोले १३ रन बनाए। अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रन हुँदा दोस्रो विकेट गुमाएको नेपालले १२ रन बनाउँदा बाँकी ६ विकेट गुमाएको थियो। नेपालले १८ र १९ औं ओभरमा दुई विकेट गुमाउँदा कुनै रन नजोड्दा दबाब बढेको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रवाण्डा २ बल खेल्न बाँकी छदा ८८ रनमा अलआउट भयो। उसका लागि एलिसले सर्वाधिक १७ रन बनाए।
बलिङमा नेपालका रचना चौधरीले ३ विकेट लिइन् भने कविता कुँवर र पूजा महतोले २-२ विकेट लिए। मनिषा उपाध्याय र रिया शर्माले १-१ विकेट लिए।
यसअघि नेपालले इटालीलाई ५० रनले हराएको थियो। पहिलो खेलमा भने नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो।
प्रतियोगिता नेपाल, रवाण्डा, अमेरिका, इटाली र भानुआटुले भाग लिएका छन्। सबै टोलीले एकआपासमा दुई दुई पटक खेल्नेछन्।