लखनउ सुपर जायन्ट्सका तीव्र गतिका बलर मोहसिन खानले राजस्थान रोयल्सका युवा ओपनर वैभव सूर्यवंशीविरूद्ध मेडन ओभर फ्याँक्दै आउट गरेर सबैलाई चकित पारेका छन्।
१५ वर्षका वैभव आफ्नो आक्रामक ब्याटिङका लागि चिनिन्छन्। आइपिएलमा उनको स्ट्राइक रेट २१३ जस्तो उच्च छ, तर मोहसिनले उनलाई खुलेर खेल्न दिएनन्। वैभवले ११ बल खेल्दै मात्र ८ रन बनाएर आउट हुनु पर्यो। खेल भने राजस्थानले ४० रनले जितेको थियो।
वैभवविरूद्ध चौथो ओभरमा मोहसिनले उत्कृष्ट बलिङ गरेका थिए।
पहिलो खेलमा मोहसिनले स्टम्प भन्दा अलि टाढा (ब्याक अफ लेन्थ) बल फाले, वैभवले पछाडि हटेर डिफेन्स गरे। बलको गति १४१ किलोमिटर प्रतिघण्टा थियो।
दोस्रो वैभवले कभरतर्फ बल धकेले तर रन लिन सकेनन्। खुट्टाको पोजिसन नमिलेका कारण उनी अलि अप्ठ्यारोमा देखिए।
तेस्रो बलमा वैभव संयमित देखिए। उनले अफ-स्टम्पको बललाई मिडविकेटतिर पन्च गरे, तर रन भएन।
चौथो यो बल सिधै ब्याटमा आउने खालको थियो (स्लट बल)। वैभवले पिचको सिधा सट प्रहार गरे तर फिल्डरले रोके।
पाँचौ बलमा वैभव झण्डै आउट भए। उनले बललाई काट्न खोज्दा बलले ब्याटको छेउ ठ्याक्कै छोएन, ब्याट र बलको बीचमा थोरै मात्र दुरी रह्यो।
ओभरको अन्तिम बलमा वैभवले ठूलो सट खेल्न खोजे। उनी अघि बढेर लङ-अनमा छक्का हान्न चाहन्थे, तर १४२ को स्पिडमा आएको बल ब्याटको माथिल्लो भागमा लागेर आकाशतर्फ उम्लियो। फिल्डर राठीले दौडिँदै उत्कृष्ट क्याच समाते।
यसरी मोहसिन खानले वैभव सूर्यवंशीको आइपिएल करियरकै पहिलो 'मेडन ओभर' मात्र फालेनन्, अन्तिम बलमा उनलाई पेभिलियनको बाटो समेत देखाइदिए। लखनउको टोली यो सफलतामा निकै खुसी देखिन्थ्यो।