आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले दोस्रो हार ब्यहोरेको छ। शुक्रबार नेपाललाई भानुआटुले नेपाल महिलालाई २२ रनले पराजित गरेको छ।
रवाण्डाको किगालीमा भएको खेलमा भानुआटुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो। लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल १५.३ ओभरमा मात्र ७५ रनमा अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको भानुआटुले मध्यम स्कोर बनाएको थियो । नेपालको बलिङले सुरुमा राम्रो नियन्त्रण राखे पनि भानुआटुले अन्तिम ओभरहरूमा केही रन जोड्न सफल भयो।
जवाफमा नेपालको इनिङ्स सुरुदेखि नै दबाबमा रह्यो । सम्झना खड्काले १९ बलमा २४ रन बनाएर प्रतिरोध गरे पनि अन्य ब्याटरहरूले ठूलो स्कोर बनाउन सकेनन्। इन्दु बर्मा ले ९ बलमा १३ रन जोडे ।
नेपालको मध्यक्रम र तल्लोक्रम छिट्टै धराशयी भयो। भानुआटुको बलिङमा नासिमाना नाभाइका ले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए । उनैलाई प्लेयर अफ द म्याच घोषित गरियो ।
यसबाहेक भनेसेला भिरा र सेलिना सोल्मानले पनि २-२ विकेट हात पारे।