भारतीय क्रिकेटका चयनकर्ताले अब मोहसिन खानलाई निकै नजिकबाट नियाल्ने पक्का छ।
लखनउ सुपर जायन्ट्सका यी तीव्र गतिका बलरले कोलकाता नाइट राइडर्सविरुद्ध मात्र २३ रन खर्चिएर ५ विकेट लिएपछि सबैको ध्यान आफूतिर खिँचेका छन्।
२७ वर्षीय खान उत्तर प्रदेशका हुन्। ६ फिट ३ इन्च अग्ला यी बलरलाई पछिल्लो समय चोटले सताएको थियो। तर यो सिजन भने उनले उत्कृष्ट बलिङ गर्दै भारतीय क्रिकेटमा तरंग ल्याइदिएका छन्।
उनको यो प्रदर्शनलाई वेस्ट इन्डिजका पूर्व खेलाडी कार्लोस ब्रेथवेटले समेत खुलेर प्रशंसा गरेका छन्।
नतिजा तल-माथि भइरहेको र धेरै उतारचढाव आएको उक्त खेलमा मोहसिन एक्लैले गुणस्तरीय खेल पस्किए। उनले आइपिएल २०२६ को पहिलो 'फाइभ-विकेट हल' (एकै खेलमा ५ विकेट) लिएर आफ्नो टोली लखनउलाई जितको नजिक पुर्याएका थिए। तर, खेल 'सुपर ओभर'मा पुग्यो, जहाँ केही गलत निर्णयका कारण लखनउ पराजित भयो र कोलकाताले बाजी मार्यो।
खेलको बीचमा कुराकानी गर्दै कार्लोस ब्रेथवेटले मोहसिनको बलिङ शैलीको प्रशंसा गरे। उनले भने, ‘हामी सधैं बलरले एउटै लेन्थमा अनुशासित बलिङ गरोस् भन्ने चाहन्छौँ। मोहसिनले पिचबाट केही मद्दत पाए र उनले लगातार सटिक बलिङ गरिरहे। धेरै बलरले बललाई राम्रो लेन्थमा राख्ने मात्र प्रयास गर्छन्, तर मोहसिनले भने बललाई पिचमा बेस्सरी बाउन्स गराए, जुन निकै प्रभावकारी देखियो।’
मोहसिनले आफ्नो स्पेलको सुरुवात नै 'विकेट मेडन' ओभरबाट गरेका थिए। उनले पावरप्लेमा अर्को एक विकेट थपे र सातौँ ओभरको पहिलो बलमै फेरि सफलता दिलाए।
उनले खतरनाक ब्याटर क्यामरुन ग्रीन (३४ रन) लाई पनि आउट गरे। जब उनले आफ्नो ४ ओभरको स्पेल २३ रन दिएर ५ विकेटका साथ टुङ्ग्याए, त्यतिबेला कोलकाता मात्र ७३ रनमा ६ विकेट गुमाएको नाजुक अवस्थामा थियो। कप्तानले उनलाई विकेट लिनकै लागि बलिङमा ल्याएका थिए र मोहसिनले सोही अनुरूप विकेट लिएर टोलीको भरोसा कायम राखे।
मोहसिनले सन् २०२२ मा आइपिएलमा डेब्यु गर्दा ९ खेलमा १४ विकेट लिएर सबैलाई प्रभावित पारेका थिए।
तर, चोटका कारण उनले पछिल्लो सिजन पूरै गुमाउनु परेको थियो। भारतीय टोलीका पूर्व प्रशिक्षक सञ्जय बांगरका अनुसार भारतसँग बायाँहाते तीव्र गतिका बलरको कमी छ, र मोहसिनले त्यो रिक्तता पूरा गर्न सक्छन्।
बांगर भन्छन्, ‘मोहसिनसँग उचाइ छ, जसका कारण उनले अतिरिक्त बाउन्स पाउँछन्। उनीसँग एक उत्कृष्ट बायाँहाते बलरमा हुनुपर्ने सबै गुण छन्। त्यसैले भारतीय चयनकर्ताहरूले उनलाई विशेष प्राथमिकतामा राख्नुपर्छ।’