आइसिसी वुमन्स टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले तेस्रो जित निकालेको छ।
नेपालले मंगलबार भएको खेलमा घरेलु टोली रवाण्डामाथि ३८ रनको जित निकालेको हो।
किगालीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको घरेलु टोली रवाण्डा १७.४ ओभरमा ६५ रनमा अलआउट भयो।
ब्याटिङमा नेपालकी कप्तान इन्दू बर्माले ४५ बलमा ४ चौका प्रहार गर्दै नटआउट ३३ रन बनाइन्। कुविता कुँवरले २४ रूबिना क्षेत्रीले ११ रन बनाए भने अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा रवाण्डाका हेनरिटेले ३ विकेट लिइन् भने बिमेन्यिमानाले २ विकेट हात पारिन्।
रवाण्डाका लागि कप्तान बिमेन्यमनाले १९ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले चार ओभरमा १० रन दिँदा १ मेडन फ्याँकिन्।
कविता कुँवर, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिए।
प्रतियोगितामा नेपालले ६ खेल खेल्दा तीन खेलमा जित निकालेको छ। नेपालले इटाली हराएको थियो भने रवाण्डाविरूद्धको दुवै खेल जित्यो। तर अमेरिकासँग नेपाल दुवै पटक पराजित भइसकेको छ। यस्तै भानुआटुसँग पनि नेपालले पराजय भागेको छ।
अब नेपालले इटाली र भानुआटुसँग खेल्न बाँकी छ। अंक तालिकामा नेपाल ६ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ।
शीर्ष स्थानको अमेरिकाको ६ खेलबाट १० अंक छ। रवाण्डा ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ। इटाली ५ खेलबाट ४ अंक जोडेर चौथो र भानुआटु ६ खेलबा६ २ अंकसहित पाँचौ स्थानमा छ।