आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई ३०६ रनको बलियो लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो।
ओमानका लागि कप्तान तथा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे। उनले १३० रन बनाउने क्रममा ९६ बल खेलेर १५ चौका र ५ छक्का प्रहार गरे।
उनले पहिलो विकेटका लागि आशिष ओडेडरासँग ८० रनको साझेदारी गरे। आशिषले २३ रन बनाए।
जितेन रामानन्डीले ४३ रन, आर्यन विष्टले ३५ रन र हमदा मिर्जाले ३० रन बनाए।
बलिङमा नेपालका सोमपाल कामीले चार विकेट लिए। उनले नौ ओभरमा ५९ रन खर्चिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिन सफल भए।
यसपटकको लिग-२ मा नेपालको प्रदर्शन राम्रो छैन। सहभागी आठ टोलीमध्ये नेपाल २१ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौं स्थानमा छ।
ओमान भने राम्रो स्थितिमा छ। ओमान २५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा छ।