कोलकाता नाइट राइडर्स (र लखनऊ सुपर जायन्ट्स बीच अप्रिल २६ मा भएको खेलमा अंग्कृष रघुवंशीको 'आउट' लाई लिएर चलेको विवादमा क्रिकेटको नियम बनाउने मुख्य संस्था 'मेरिलिबोन क्रिकेट क्लब' ले आफ्नो धारणा प्रष्ट पारेको छ।
एमसीसीले थर्ड अम्पायरको उक्त निर्णय सही भएको पुष्टि गरेको छ।
खेलको पाँचौँ ओभरमा रघुवंशीले बललाई 'मिड-अन' तर्फ प्रहार गरेर रन लिन खोजेका थिए। तर अर्का तर्फका ब्याटर क्यामरुन ग्रीनले उनलाई फर्काइदिए।
क्रिजमा फर्किने क्रममा रघुवंशी पिचको बीच भागबाट दौडिए र अन्तिममा 'डाइभ' हान्ने बेला आफ्नो दिशा परिवर्तन गरे। सोही क्रममा फिल्डरले फालेको बलले उनलाई लाग्यो। लखनउका खेलाडीहरूले अपिल गरेपछि तेस्रो अम्पायर रोहन पण्डितले उनलाई 'अब्सट्रक्टिङ द फिल्ड' (मैदानमा जानीजानी बाधा पुर्याएको) भन्दै आउट दिएका थिए।
धेरैले यसलाई 'दुर्घटना' भने पनि एमसीसीले क्रिकेटको नियम ३७.१.१ लाई उद्धृत गर्दै यसलाई 'जानीजानी गरिएको गल्ती' मानेको छ।
एमसीसीका अनुसार ब्याटरले रन लिँदा वा फर्किँदा आफ्नो बाटो परिवर्तन गर्नु वा पिचको बीचबाट दौडिनुलाई जानीजानी गरिएको अवरोध मानिन्छ।
रघुवंशी अफ-साइडबाट लेग-साइडतिर मोडिएका थिए, जसले गर्दा उनी बल र विकेटको बीचमा आए।
यदि उनी सिधा वा आफ्नो साइडबाटै दौडिएको भए बलले उनलाई लाग्ने थिएन।
एमसीसीले यो पनि प्रष्ट पारेको छ कि ‘बलले स्टम्प लाग्थ्यो कि लाग्दैनथ्यो’भन्ने कुराले यस नियममा खासै अर्थ राख्दैन, मुख्य कुरा ब्याटरले बाटो छेकेको छ कि छैन भन्ने मात्र हेरिन्छ।
अम्पायरले आउट दिएपछि रघुवंशी निकै रिसाएका थिए। मैदानबाट बाहिरिने क्रममा उनले ब्याट हावामा हल्लाएका थिए भने 'बाउन्ड्री कुसन' मा प्रहार गर्दै आफ्नो हेल्मेट भुइँमा पछारेका थिए।
यो व्यवहारलाई अनुशासनहीन मान्दै आईपीएलले उनलाई म्याच फीको २० प्रतिशत जरिवाना गरेको छ र एक डिमेरिट पोइन्ट पनि दिएको छ। यद्यपि, त्यो रोमाञ्चक खेलमा कोलकाताले 'सुपर ओभर' मा जित हात पारेको थियो।