आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ। यो लक्ष्य पछ्याएर युएईले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको छ।
युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको हो। खेलको नजिता आउन कम्तिमा २० ओभरमा खेल्नु पर्छ।
वर्षाले खेल फेरि सुरु भएको छ। अब युएईलाई ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य दिइएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २८९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०० रन जोडे। एकदिवसीय खेलमा दोस्रो शतक प्रहार गरेका दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए।
दीपेन्द्र र गुल्सन झाबीच छैटौं विकेटका लागि १०२ रनको साझेदारी भयो। गुल्सनले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए।
त्यसअघि ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
ओपनिङमा मौका पाएका डेब्यू खेलाडी अर्जुन कुमालले ११ रन जोडे भने भीम सार्की शून्यमा पेभिलियन फर्किए।
कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ३९ रन र आरिफ शेखले १६ बलमा ११ रन जोडे।
बलिङमा युएईका जुनइद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिए।
नेपालले खेलका लागि आज चार परिवर्तन गरिएको थियो। करण केसीसहित कुशल भुर्तेल, आसिफ शेख र बसिर अहमद आज थिएनन्।
अर्जुन कुमाल र विनोद भण्डारीले ओपनिङ गर्दा नन्दन यादवले करण केसीको स्थानमा थिए। बसिर अहमद टोलीमा नहुँदा ललित राजवंशी टोलीमा छन्।
सिरिजमा नेपालले दुई खेल खेल्दा पहिलो खेलमा युएईलाई हराएको थियो। ओमानसँगको खेल भने नेपालले गुमाएको थियो। ओमान र युएईले पनि दुई दुई खेल खेल्दा एक एक खेलमा जित र एक एक खेलमा हार ब्यहोरेका छन्।
यसपटकको लिग-२ मा नेपालको प्रदर्शन राम्रो छैन। सहभागी आठ टोलीमध्ये नेपाल २२ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौं स्थानमा छ। पुछारको युएईको १२ अंक छ।
ओमान भने राम्रो स्थितिमा छ। ओमान २६ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ।