जर्मनीमा नेपाली समुदायले पहिलो पटक 'एनआरएनए क्रिकेट प्रतियोगिता' आयोजना गर्ने भएक छन्। यस प्रतियोगिताको आयोजना नेपाली डार्मस्टाट क्रिकेट क्लब, नेपाल डार्मस्टाट फुटबल क्लब, एनआरएनए जर्मनी र एनआरएनए एलसीसी हेसेनले संयुक्त रूपमा गर्न लागेका हुन्।
आगामी मे ३० र ३१ तारिख (शनिबार र आइतबार) डार्मस्टाटमा आयोजना हुने यस प्रतियोगितामा जर्मनीका विभिन्न स्थानका उत्कृष्ट १० नेपाली क्रिकेट क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी हुने टोलीमा उत्तर र पूर्व क्षेत्र: एनएससीए (ह्यामबर्ग), एनआरसीसी (बर्लिन) र जीएनएससीसी (गोटिङ्गेन), पश्चिम क्षेत्र: नेप्लिज स्टार्स (एनआरडब्लु), दक्षिण क्षेत्र: बीएनई (म्युनिख), एनएफसीटी (नुरेम्बर्ग) र टीडब्लु-११ (वाइनगार्टन) मध्य क्षेत्र: एनडिसीसी (डार्मस्टाट), एनएचएससी (म्यानहाइम) र एनसीटी (गिसेन) रहेका छन्।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलहरू पछि उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू उपाधिका लागि 'नकआउट' चरणमा प्रवेश गर्नेछन्।
विजेताले २,००२ यूरो र उपविजेताले १,००१ यूरो पुरस्कार जित्नेछन्।
विधागत पुरस्कारहरमा प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरसहित म्यान अफ द म्याच (प्रत्येक खेलमा प्रदान गरिने) रहेका छन्।
संयुक्त आयोजक टोलीका अनुसार, ‘यो प्रतियोगिता जर्मनीमा बढ्दै गएको नेपालीको उपस्थिति, एकता र खेलप्रतिको लगावको उदाहरण हो। विभिन्न शहरका १० क्लबलाई एउटै मैदानमा उतार्नुको मुख्य उद्देश्य हाम्रो आपसी सम्बन्धलाई मजबुत बनाउनु र विदेशमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनु हो।’