एसियन गेम्स छनोटअन्तर्गत पुरुषतर्फको प्रतिस्पर्धामा नेपालले उत्कृष्ट सुरूवात गरेको छ।
आइतबार सिंगापुरमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १२९ रन बनाए। उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गरे।
आसिफ शेख ११ रनमा आउट हुँदा कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८५ रनको योगदान गरे। रोहित पौडेलले २१ बलमै ५ चौका र ७ छक्काको प्रहार गर्दै ६९ रन बनाए।
३१४ रनको लक्ष्य पछ्याएको चीन ९२.२ ओभरमा ९२ रनमै अलआउट भएपछि नेपालले २२१ रनको जित निकाल्यो।
बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिदा कुशल मल्लको नाममा ३ विकेट रह्यो।
यो समूहमा मलेसिया र कतार पनि छन्।
पहिलो खेलमा उत्कृष्ट जित निकालेसँगै विभिन्न रेकर्ड बनेका छन्।
खेलमा १६ छक्का प्रहार गरेका कुशल भुर्तेल नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। टी-२० मा उनले ९९ छक्का प्रहार गरिसकेका छन्। उनले यसअघि दीपेन्द्रसिंह ऐरीको नाममा रहेको ८९ रनको कीर्तिमान तोडे।
भुर्तेलले नेपालका लागि वाउन्ड्रीबाट धेरै रन जोड्ने कीर्तिमान पनि बनाए। उनले खेलमा बाउन्ड्रीबाट मात्र ११६ रन बनाएका थिए।
भुर्तेलको नाममा अर्को रेकर्ड पनि बन्यो। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा दोस्रो शतक बनाउने खेलाडी बने।
उनको १२९ रन नेपालका लागि टी-२० मा सर्वाधिक दोस्रो स्कोर हो। यसअघि कुशल मल्लले मंगोलियाविरूद्ध १३७ रन बनाएका थिए।
खेलमा भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरे। उनी नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
यो स्कोर नेपालले टी-२० अन्तर्राष्ट्रियमा बनाएको दोस्रो ठूलो स्कोर हो। यसअघि मंगोलियाविरुद्ध नेपालले एक रन बढी अर्थात् ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो।
खेलमा नेपालले हात पारेको २२१ रनको जित रनको आधारमा दोस्रो ठूलो जित हो। यसअघि नेपालले मंगोलियाविरूद्ध नै २७३ रनको जित निकालेको थियो। सो जित सर्वाधिक ठूलो जित हो।