नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै नयाँ इतिहास रचेका छन्।
एसियाली खेलकुदको छनोट खेलमा चीनविरुद्ध खेल्ने क्रममा उनले चिनियाँ बलर चेन झुओ युएका ६ वटै बलमा छक्का प्रहार गरेका हुन्। यो सफलतासँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाडी बनेका छन्।
सिंगापुरस्थित नेशनल क्रिकेट ग्राउण्डमा आइतबार भएको खेलमा कुशलले नवौं ओभरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे। उनले चिनियाँ बायाँ हाते स्पिनर चेन झुओ युएका ६ वटा वैध बलमा लगातार ६ वटा छक्का प्रहार गरेका थिए।
यसअघि नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले मात्र टी-२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका थिए। अब कुशल भुर्तेल पनि यो विशिष्ट क्लबमा सामेल भएका छन्।
विश्व क्रिकेटमा ६ छक्का प्रहार गर्ने खेलाडीहरू:
१. युवराज सिंह (भारत): विरुद्ध इंग्ल्याण्ड, २००७
२. किरन पोलार्ड (वेस्ट इन्डिज): विरुद्ध श्रीलंका, २०२१
३. दिपेन्द्र सिंह ऐरी (नेपाल): विरुद्ध कतार, २०२४
४. डेरियस विसर (सामोआ): विरुद्ध भानुअतु, २०२४
५. मनन बशिर (बुल्गेरिया): विरुद्ध जिब्राल्टर, २०२५
६. कुशल भुर्तेल (नेपाल): विरुद्ध चीन, २०२६
कुशल भुर्तेलले मात्र ४३ बलको सामना गर्दै १२९ रनको सानदार इनिङ्स खेले।
उनको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको चीनलाई नेपालले सहजै रोक्दै २२१ रनको विशाल अन्तरले जित हासिल गर्यो।