एसिसी प्रिमियर कप २०२६ को आफ्नो दोस्रो खेलमा नेपाली बलरले घातक बलिङ गरेका छन्।
घरेलु टोली मलेसियाविरूद्ध नेपालका करण केसीले चार विकेट लिएका छन्। यससँगै टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो।
उसका लागि कप्तान सयद अजिजले सबैभन्दा बढी ३० रन बनाए।
सुरुवाती ओभरदेखि नै उत्कृष्ट बलिङ गरेको करणले चार विकेट लिँदा दुई ओभरमा मेडन फ्याँके। उनले ७.३ ओभरमा २३ रन खर्चिए। ललित राजवंशीले २ विकेट लिने क्रममा ६ ओभरमा १ मेडन फ्याँके भने १९ रन दिए।
कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए।
समूह ‘ए’ मा यसअघि पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको थियो।
नेपालले समूहमा तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।