इन्डियन प्रिमियर लिग (आइपिएल) खेल चलिरहेको हुन्छ।
चेन्नई सुपर किंग्सलाई जितका लागि केही बलमा धेरै रन चाहिएको हुन्छ। दर्शकको नजर डगआउटतिर जान्छ।
महेन्द्रसिंह धोनी ब्याटिङ गर्न मैदान छिर्ने तयारीमा हुन्छन्। उनी छिर्नासाथ स्टेडियम हुटिङले गुञ्जिन्छ। चेन्नईको झन्डाले स्टेडियम पहेँलपुर हुन्छ।
धोनी मैदान प्रवेश गर्दा चेन्नईका समर्थक मात्रै होइन, विपक्षी टोलीका समर्थकहरू समेत उत्साहित देखिन्छन्।
त्यसपछि धोनीले ब्याट समातेर बलरको सामना गर्न थाल्छन्। अनि आउँछ उनको चर्चित ‘हेलिकप्टर सट’।
बल सीमापार पुग्छ, स्टेडियम जुरूक्कै उठ्छ, हुटिङको चर्को आवाजले मैदान गुञ्जायमान बन्छ।
विश्व क्रिकेटको सर्वाधिक चर्चित लिग आइपिएलमा वर्षौंदेखि देखिँदै आएको यो दृश्य यसपालिदेखि देख्न नपाइने भएको छ।
भारतीय क्रिकेटका पूर्वकप्तान धोनीले खेलाडीका रूपमा आइपिएलको १९ वर्षे यात्रा अन्त्य गरेका छन्।
चेन्नई सुपर किंग्स (सिएसके) ले उनलाई सन् २०२७ को सिजनका लागि टोलीको मेन्टर नियुक्त गरेको छ।
सिएसकेले मंगलबार खेलाडीलाई रिलिज र रिटेन गर्ने समयसीमा सकिनुभन्दा तीन घण्टाअघि धोनीको नयाँ भूमिकाबारे घोषणा गरेको हो।
आगामी डिसेम्बर १६ मा गोवामा आइपिएलको खेलाडी लिलामी हुँदैछ।
४५ वर्षीय धोनीले आफ्नो आइपिएल करिअर चेन्नईको घरेलु मैदान चेपकमा समर्थकहरूमाझ अन्त्य गर्ने इच्छा व्यक्त गर्दै आएका थिए। तर अब उनको खेलाडीका रूपमा मैदानमा देखिने यात्रा त्यसरी अन्त्य हुने छैन।
सिएसकेका मालिक एन श्रीनिवासनले धोनीसँगको सम्बन्धबारे भनेका छन्, ‘एमएस धोनीबिना सिएसके अधुरो छ। झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र हरेक परिस्थितिमा सँगै यात्रा गरेका छौँ।’
उनले सन् २००८ मा आफूले धोनीलाई सिएसकेमा ल्याउन जोड दिएको स्मरण गर्दै त्यो आफ्नो सबैभन्दा राम्रो निर्णय भएको बताए।
धोनी सधैँ सिएसकेको पहिचान र घरको हिस्सा रहने उनको भनाइ छ।
४५ वर्षीय धोनी सन् २०२७ को सिजनदेखि सिएसकेको नयाँ प्रशिक्षक टोलीमा आबद्ध हुनेछन्। टोलीको मुख्य प्रशिक्षकमा जाहिर खान छन्। सहायक प्रशिक्षकमा एल्बी मोर्केल, गारेथ बेट्टी र श्रीधरन श्रीराम छन्। मोहित शर्मालाई बलिङ प्रशिक्षक र जेम्स फोस्टरलाई फिल्डिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
पछिल्ला तीन सिजन प्लेअफमा पुग्न नसकेपछि सिएसकेले आफ्नो प्रशिक्षक टोलीमा व्यापक परिवर्तन गरेको हो।
धोनी सन् २००८ मा भएको पहिलो आइपिएल खेलाडी लिलामीमा १५ लाख अमेरिकी डलरमा सिएसकेमा आबद्ध भएका थिए। त्यसबेला उनले भारतलाई सन् २००७ को टी-२० विश्वकपको उपाधि दिलाइसकेका थिए।
उनको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँचपटक आइपिएल उपाधि जित्यो। त्यस्तै, सन् २०१० र २०१४ मा च्याम्पियन्स लिग टी-२० को उपाधि पनि जित्यो। लगातार दुईपटक आइपिएल उपाधि जित्ने र एउटै वर्ष आइपिएल तथा च्याम्पियन्स लिग दुवै जित्ने पहिलो टोली पनि चेन्नई नै बनेको थियो।
धोनीले आइपिएलका सुरुवाती १९ सिजनमध्ये १७ सिजन चेन्नईबाट खेले।
सन् २०१६ र २०१७ मा चेन्नईमाथि प्रतिबन्ध लागेका बेला उनले राइजिङ पुने सुपरजाइन्टबाट खेलेका थिए। आइपिएल करिअरमा उनले ५ हजार ४३९ रन बनाए। उनको ब्याटिङ औसत ३८.३० र स्ट्राइक रेट १३७.४५ रह्यो।
उनले १२ सिजन चेन्नईको कप्तानी गरे। सन् २०२२ मा कप्तानी रविन्द्र जडेजालाई हस्तान्तरण गरेका थिए। तर टोलीको खराब प्रदर्शनपछि सिजनको बीचमै पुनः कप्तानी सम्हाले। उक्त सिजन चेन्नई नवौँ स्थानमा सीमित भए पनि सन् २०२३ मा धोनीकै कप्तानीमा टोलीले उपाधि जित्यो।
सन् २०२४ को आइपिएल सुरु हुनुभन्दा एक दिनअघि उनले पुनः कप्तानी छाडे। त्यसपछि ऋतुराज गायकवाडको नेतृत्वमा चेन्नई पाँचौँ स्थानमा रह्यो।
सन् २०२५ मा चेन्नईले उनलाई अनक्याप्ड खेलाडीका रूपमा टोलीमा राखेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटबाट पाँच वर्षअघि नै सन्न्यास लिइसकेकाले उनी अनक्याप्ड खेलाडीका रूपमा अनुबन्ध भएका थिए। तर गायकवाड घाइते भएपछि धोनीले सिजनको बीचमा पुनः कप्तानी सम्हाले। त्यस सिजन चेन्नई लिगको पुछारमा रह्यो।
पछिल्ला दुई सिजनमा धोनीको ब्याटिङ भूमिका पनि सीमित हुँदै गएको थियो।
उनी प्रायः खेलको अन्तिम समयमा मात्र ब्याटिङ गर्न मैदानमा आउँथे। सन् २०२४ मा उनले ११ इनिङ्समा ७३ बल र २०२५ मा १३ इनिङ्समा १४५ बल खेलेका थिए।
चोटका कारण उनले सन् २०२६ को आइपिएलमा एउटा पनि खेल खेल्न सकेनन्। खेलका दिनसमेत उनी चेन्नईको मैदानमा कमै देखिन्थे।
सन् २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलपछि भारतका लागि नखेलेका धोनीले सन् २०२० अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए।
त्यसपछि उनले निरन्तरता दिएको क्रिकेट आइपिएल मात्र थियो।
अब त्यो यात्रा पनि खेलाडीका रूपमा टुंगिएको छ।
चेन्नईको जर्सीमा धोनीको हेलिकप्टर सट हेर्न नपाइए पनि नयाँ सिजनमा उनी मेन्टरका रूपमा टोलीसँग हुनेछन्।