एसिया कप राइजिङ स्टार्समा भारत ए पाकिस्तान शाहिन्ससँग ४८ रनले पराजित भएको छ।
कतारको दोहामा आइतबार राति सकिएको खेलमा पाकिस्तानले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा २६५ रनमा अलआउट भएको हो।
भारतका कप्तान तिलक वर्माले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्।
उनले १४९ बलमा १०० रन बनाए।
तिलक नै भारतको अन्तिम विकेटका रूपमा आउट भएका थिए। शहबाज अहमदले ५६ रन बनाए।
भारतको इनिङ्सको सुरुवात आक्रामक थियो।
अभिषेक शर्माले ४२ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए। तर उनी आउट हुँदा भारतले १६ ओभरमा ९३ रन जोडेर तीन विकेट गुमाइसकेको थियो।
त्यसपछि पाकिस्तानका स्पिनरले भारतलाई दबाबमा राखे।
सुफियान मुकिमले कुमार कुशाग्रालाई २ रनमा बोल्ड गरे।
हसन नवाजले रिंकु सिंह र सूर्यांश शेड्गेलाई आउट गरेपछि भारत २६ ओभरमा १२९ रन जोड्दा ६ विकेट गुमाउने अवस्थामा पुग्यो।
त्यसपछि तिलक र शहबाजले सातौँ विकेटका लागि ११२ रनको साझेदारी गरे।
उनीहरूले भारतको स्कोर २४१ रनसम्म पुर्याएपछि अली रजाले शहबाजलाई हसन नवाजबाट क्याच गराए। शहबाजले ४९ बलमा ५६ रन बनाएका थिए।
रजाले त्यसपछि विप्रज निगमलाई खाता खोल्न नदिई बोल्ड गरे। इमरान रन्धावाले हर्षित राणालाई आउट गरेपछि भारतले नवौँ विकेट गुमायो।
तिलकले प्रतियोगितामा दोस्रो शतक पूरा गरे पनि भारतलाई जिताउन सकेनन्।
अन्तिम ओभरमा अहमद दानियालले उनलाई विकेटकिपर रोहेल नाजिरबाट क्याच गराएपछि भारतको इनिङ्स सकियो।
पाकिस्तानका हसन नवाजले ३ विकेट लिए। अली रजाले ५६ रन खर्चेर ३ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३१३ रन बनाएको थियो।
पाकिस्तानका हसन नवाजले ८२ बलमा ७९ रन बनाए।
माज सदाकतले ६३ बलमा ५९ रन जोडे। फरहान युसुफले ४८ बलमा ५६ रन बनाए भने इमरान रन्धावाले २३ रनको योगदान गरे।
ओपनर शामिल हुसेन र माजले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। शामिलले २३ बलमा ३३ रन बनाए।
आयुष बडोनीले उनलाई हर्षित राणाबाट क्याच गराए।
त्यसपछि राणाले रोहेल नाजिरलाई खाता खोल्न नदिई एलबिडब्लु आउट गरे। पाकिस्तानले ६७ रन जोड्दा दुई विकेट गुमाएको थियो।
त्यसपछि माज र हसनले तेस्रो विकेटका लागि इनिङ्स सम्हाले।
माज लगातार दोस्रो अर्धशतक बनाउँदै ५९ रनमा आउट भए। हसनले ७९ रन बनाए। फरहान र इमरानको योगदानमा पाकिस्तानले ३०० रन पार गरेको थियो।
टसका क्रममा पनि विवाद भएको थियो। भारतीय कप्तान तिलक वर्माले सिक्का उछालेपछि पाकिस्तानका कप्तान अब्दुल समदले हेड्स रोजेका थिए। तर म्याच रेफ्रीले सुरुमा टेल्स भएको घोषणा गरेका थिए। समदले गल्ती औँल्याएपछि निर्णय सच्याइएको थियो र टस पाकिस्तानको पक्षमा परेको थियो।
दुवै टोलीका कप्तानले खेलअघि हात मिलाएनन्।
भारत र पाकिस्तानबीचका पछिल्ला खेलमा अपनाइएको यही व्यवहार यस खेलमा पनि दोहोरिएको थियो।
जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान निश्चित गरेको छ। समूह चरणको अन्तिम खेल उसले नेपालसँग खेल्नेछ। भारतले युएईसँग खेल्नेछ।