स्पेनिस ला लिगाको साविक विजेता रियल म्याड्रिड सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ। रियललाई रियल सोसिडाडले गोलरहित बराबरीमा रोकेको हो।
रियलले खेलमा गोल गर्ने मौका खेर फालेको थियो। करिमा बेन्जिमाले प्रहारलाई सोसिडाडका गोलकिपर एलेक्स रेमिरोले विफल पारेका थिए।
खेलमा म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेभिड सिल्भाले सोसिडाडका लागि डेब्यू गरेका थिए। तर उनले सोसिडाडका लागि पहिलो खेलमा गोलका लागि कुनै पास उपलब्ध गराउन सकेनन्।
सोसिडाडका लागि एकलेक्जेन्डर इसाकले गोल गर्ने प्रयास गरे पनि रियलका गोलकिपर बाधक बनेका थिए।
रियल म्याड्रिड आफ्ना मिडफिल्डर इडिन हजार्डबिना मैदान उत्रिएको थियो। उनी चोटका कारण अनुपस्थित थिए।
हजार्डको अनुपस्थितिमा ब्राजिलियन भिनिसियस जुनियर र रोद्रिगोले खेलमा आफ्नो प्रभाव देखाउन सकेनन्।
ला लिगाका अन्य खेलमा ग्रानडाले अलाभेसलाई २-१ गोलले पराजित गरेको छ। यस्तै रियल बेटिसले रियल भलडोलिडमाथि २-० गोलको जित निकालेको छ।
लेभान्टे र एट्लेटिको म्याड्रिडबीचको खेल भने स्थगित भएको छ।
लिगमा बार्सिलोनाले अर्को हप्ता पहिलो खेल खेल्ने तय छ। बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियलसँग खेल्नेछ।