जर्मन क्लब वार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले द वेस्ट फिफा मेन्स प्लेयर २०२१ को अवार्ड जिते।
सोमबार राति भएको समारोहमा लेवान्डोस्कीले समग्र भोटमा अघि रहदै अवार्ड पाए।
विश्वभरबाट गरिएको भोटिङ चार तरिकाबाट भएको थियो। जसमा राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, पत्रकार र फ्यानले भोट गरेका थिए। चारै क्षेत्रको भोटलाई २५–२५ प्रतिशत हिस्सा दिइएको थियो।
जसमा नेपालबाट पनि भोट गएको थियो। फ्यानका लागि अनलाइन भोटिङ भएको थियो। यो बाहेक राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बु र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भोट गरेका थिए। महिलातर्फ कप्तान रेनुका नगरकोटी र प्रशिक्षक चेतन घिमिरे भोट गरेका थिए।
नेपालबाट पत्रकारले भने भोट गर्ने अवसर पाएनन्।
मनोनयनमा रहेका मध्ये तीन जनालाई भोट गर्न पाइने प्रावधान थियो। जसमा पहिलो नम्बरमा भोट पाउनेले ५ अंक, दोस्रो नम्बरमा भोट पाउनेले ३ अंक र तेस्रो नम्बरमा भोट पाउनेले १ अंक पाउने प्रावधान थियो।
नेपालका कप्तान किरणले पुरुष खेलाडीमा पहिलो नम्बरमा लिओनल मेसी, दोस्रोमा क्रिस्टियानो रोनाल्डो र तेस्रो नम्बरमा लेवान्डोस्कीलाई भोट गरेका थिए।
यस्तै प्रशिक्षक अलमुताइरीले पहिलो नम्बरमा मोहमद सलाह, दोस्रो नम्बरमा लिओनल मेसी र तेस्रो नम्बरमा जोर्गिन्होलाई भोट दिए।
किरणले प्रशिक्षकतर्फ रोबर्टो मान्सिनी, लिओनल स्कालोनी र थोमस टुचेललाई भोट गर्दा अलमुताइरीले टुचेल, स्कालोनी र हान्सी फ्लिकलाई भोट गरेका थिए।
गोलकिपरको भोटिङमा किरणले डोन्नारूम्मा, मेन्डी र म्यानुअल नेउरलाई भोट गरेका थिए भने अलमुताइरीले मेन्डी, डोन्नारूम्मा र एलिसन बेकरलाई भोट गरेका थिए।