अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई औपचारिक पत्राचार गरेको दाबी गरेको छ।
यसअघि साम्बाले आफ्नो उपचारमा बेवास्ता गरेको बताएपछि एन्फाले औपचारिक धारणा सार्वजनिक गरेको हो।
‘व्यवसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तराष्ट्रिय प्रचलन रहेको छ। साम्बाको हकमा उहाँको क्लबले न्युजिल्याण्डको अस्पतालमा उपचारको पहल गरेको तर उहाँले कतारमा गइ उपचार गराउने इच्छा राखेकोले एन्फाले यसको लागि सबै प्रयास र पहलहरु गरि नै राखेको जानकारी गराउदछौ,’ एन्फाको भनाइ छ, ‘नेपाली फुटबलमा साम्बाले पुऱ्याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उहाँको उपचारका लागि एन्फाले कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको जानकारी गराउन चाहन्छौं। यसै सन्दर्भमा एन्फाका अध्यक्षले पनि व्यक्तिगत तवरबाट कतार फुटबल संघसँग पटक-पटक आवश्यक पहल तथा ताकेता गरिरहनुभएको छ।’
साथै साम्बाले गरेको आग्रहअनुसार एन्फाले परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी आवश्यक समन्वयका लागि पत्राचार गरिसकेको एन्फाको भनाइ छ।
यसअघि साम्बाले आफ्नो उपचारको सहयोगका लागि एन्फा पछि हटेको आरोप लगाएकी थिइन्।
अस्ट्रेलियाको 'निन्जा ए-लिग' क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको 'एसिएल' पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाएकी थिइन्।
चोटको उपचारमा लाग्नु पर्ने साम्बाले आफू अझै पनि उपचारका लागि भौंतारिएको र एन्फाबाट उचित सहयोग नपाएको बताइएकी हुन्।
ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते भएकी थिइन्। यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
यो पनि :- चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया


