इटालियन क्लब एसी मिलानका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता एक वर्षका लागि थप गरेका छन्। आगामी सेप्टेम्बरमा उनी ४१ वर्ष पुग्दैछन्।
स्पेनिस क्लब रियल मड्रिडमा १३ वर्ष बिताएपछि मोड्रिच गत वर्ष एक वर्षको सम्झौतामा मिलान आएका थिए। अघिल्लो सिजन उनले मिलानका लागि ३७ खेल खेल्दै २ गोल गरे। यद्यपि, मिलानका लागि
त्यो सिजन सोचेजस्तो रहेन; टोली 'सिरी ए' तालिकाको पाँचौँ स्थानमा सीमित भयो भने 'कोपा इटालिया' को अन्तिम १६ बाटै बाहिरियो।
आफ्नो नयाँ सम्झौताको बारेमा मोड्रिचले भने, ‘एसी मिलानमै बस्न पाउँदा म निकै खुसी छु। यहाँ मलाई पहिलो दिनदेखि नै सबैले स्वागत र माया गर्नुभएको छ।’
उनले थपे, ‘अघिल्लो सिजन हाम्रो अपेक्षाभन्दा कमजोर रहेकाले अब फेरि लयमा फर्कने ठूलो इच्छा छ। नयाँ सिजन नयाँ चुनौती हाम्रा सामु छ। म यो परियोजनामा विश्वास गर्छु र यसले मलाई उत्साहित बनाएको छ। म यो जर्सीका लागि फेरि आफ्नो शतप्रतिशत दिन तयार छु। सान सिरो रंगशालामा फर्किएर समर्थकहरूको उत्साह महसुस गर्न म आतुर छु।’
मोड्रिचले हालै मात्र आफ्नो पाँचौँ विश्वकप खेलेका थिए, जहाँ उनको टोली क्रोएसिया 'अन्तिम ३२' को चरणमा पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो। सन् २०१६ मा राष्ट्रिय टोलीको कप्तान बनेपछि
उनको नेतृत्वमा क्रोएसिया विश्वकपको उपविजेता र तेस्रो स्थानसम्म पुग्न सफल भएको थियो।
सन् २०१८ का 'बालोन डी'ओर' विजेता मोड्रिचले रियल मड्रिडबाट ६ पटक च्याम्पियन्स लिग र ४ पटक ला लिगाको उपाधि जितेका छन्। यसअघि उनले लन्डनको क्लब टोटनह्याम हट्सपरबाट चार वर्षमा १६० खेल खेलेका थिए।