स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्।
बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन्।
३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्।
उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने खेलाडी बनेकी छन्।
बोनमतीले सन् २०२३, २०२४ र २०२५ मा लगातार तीन पटक यो उपाधि जितेकी थिइन्।
अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले उपाधि जितेकी हुन्।
बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खादिजा श तेस्रो स्थानमा रहे।
पुटेलासको जित चोटबाट फर्किएर विश्व फुटबलको शीर्ष स्तरमा पुनरागमन गरेको यात्राको अर्को उपलब्धि हो।
सन् २०२२ मा घुँडाको अग्रभागमा रहेको लिगामेन्ट (एसीएल) च्यातिएपछि उनको खेलजीवन नै जोखिममा परेको थियो।
चोटका कारण उनी सन् २०२२ को महिला युरोपियन च्याम्पियनसिप खेल्नबाट बञ्चित भएकी थिइन्।
त्यसपछि उत्कृष्ट लयमा फर्कन उनलाई समय लाग्यो।
सन् २०२३ मा स्पेनले महिला विश्वकप जित्दा पनि उनले सीमित भूमिका मात्र पाएकी थिइन्।
तर त्यसपछिका सिजनमा उनको प्रदर्शन सुध्रिँदै गयो।
सन् २०२४ को च्याम्पियन्स लिग फाइनलमा गोल गरेकी पुटेलासले गत सिजन बार्सिलोनाको आक्रमणमा सिर्जनात्मक जिम्मेवारी सम्हालिन्।
बोनमती पाँच महिना चोटका कारण मैदानबाहिर रहँदा पुटेलासको भूमिका अझ महत्त्वपूर्ण बनेको थियो।
गत सिजन पुटेलासले सबै प्रतियोगितामा २१ गोल गर्नुका साथै १३ गोलका लागि अवसर सिर्जना गरिन्।
उनले महिला च्याम्पियन्स लिगमा सात गोल गरिन्, जहाँ बार्सिलोनाले पछिल्लो ६ सिजनमा चौथो पटक उपाधि जितेको थियो।
स्पेनको घरेलु लिगमा बार्सिलोना लगातार सातौं पटक च्याम्पियन बन्यो।
पुटेलासले बार्सिलोनाबाट १४ वर्ष खेल्दै ३८ उपाधि जितेकी छन्। यसमा १० लिग उपाधि र चार युरोपियन कप समावेश छन्।
बार्सिलोनाको चर्चित युवा एकेडेमी ला मासियामा पनि उनले केही समय बिताएकी थिइन्।
बाल्यकालदेखि समर्थक रहेकी उनी सन् २०१२ मा बार्सिलोनाको महिला टोलीमा फर्किएपछि क्लबकी प्रमुख खेलाडी बनिन्।
तर बार्सिलोनासँगको सम्झौता सकिएपछि नयाँ चुनौती खोज्दै उनी गत जुलाईमा इंग्ल्यान्डको महिला सुपर लिग खेल्ने क्लब लन्डन सिटी लायनेसमा आबद्ध भइन्।
अमेरिकी अर्बपति मिसेल काङको लगानी रहेको उक्त क्लबमा पुगेपछि उनले सात लिग खेलमा तीन गोल र एक असिस्ट गरिसकेकी छन्।
यसैबीच, पुरुषतर्फको बालोन डी’ओर इंग्ल्यान्डका कप्तान ह्यारी केनले जितेका छन्।
उनी सन् २००१ मा माइकल ओवेनले जितेयता पुरुष बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।