अस्ट्रेलियाका विश्वकप स्टार क्रिस्टियन भोल्पाटोमाथि कोकिन सेवन गरेको आरोप लागेको छ।
सिड्नीमा एकै रात दुई पटक तीव्र गतिमा गाडी चलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
२२ वर्षीय मिडफिल्डर भोल्पाटोलाई बिहीबार राति सिड्नीको एन्ज्याक ब्रिजमा ६० किलोमिटर प्रतिघण्टाको गति सीमा भएको ठाउँमा ८६ देखि ९४ किलोमिटरको गतिमा बीएमडब्लु गाडी चलाउँदा प्रहरीले रोकेको थियो।
त्यतिबेला गरिएको मापसे (अल्कोहल) परीक्षणमा भने नतिजा नेगेटिभ आएको थियो।
त्यसको दुई घण्टापछि सोही क्षेत्रमा १०९ किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउँदा उनलाई पुनः रोकियो। यस पटक गरिएको परीक्षणमा भने उनले कोकिन सेवन गरेको पाइएको प्रहरीले दाबी गरेको छ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार भोल्पाटोलाई तीव्र गतिका लागि जरिवाना गरिएको छ भने उनको अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गरिएको छ।
यसको अर्थ अब उनले न्यु साउथ वेल्समा गाडी चलाउन पाउने छैनन्। थप अनुसन्धानका लागि उनको र्यालको नमुना संकलन गरिएको र प्रहरी सोधपुछ जारी रहेको बताइएको छ।
भोल्पाटोले २०२६ को विश्वकपमा अस्ट्रेलियाका लागि चारमध्ये तीन खेल खेलेका थिए। अन्तिम ३२ को खेलमा अस्ट्रेलिया इजिप्टसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
इटालीको युवा टोलीबाट फुटबल खेल्न सुरु गरेका उनले गत मे महिनामा मात्र अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरेका थिए।
सन् २०२३ देखि उनी इटालीको 'सिरी ए' क्लब सासुओलोमा आबद्ध छन्। गत सिजन उनले क्लबका लागि २४ खेल खेलेका थिए भने उनको टोली तालिकाको ११औँ स्थानमा रहेको थियो।