इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर यसै सिजन क्लब छाडेका पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय टोली सम्हाल्ने प्रस्तावलाई अस्वीकार गरेका छन्।
यसै हप्ताको सुरुमा इटालियन फुटबल महासंघका अध्यक्ष जोभानी मालागोले ग्वार्डिओलासँग कुराकानी भएको र उनको तलबका लागि ‘विशेष व्यवस्था’ गर्न सकिने बताएका थिए।
महासंघका प्राविधिक निर्देशक पाओलो माल्दिनीका अनुसार इटालीले सुरुमा आफ्ना पूर्व खेलाडी कार्लो एन्सेलोटीलाई प्रस्ताव गरेको थियो, जो हाल ब्राजिलको प्रशिक्षक छन्।
तर एन्सेलोटी ब्राजिलमै रहने भएपछि ग्वार्डिओलालाई सम्पर्क गरिएको थियो। ग्वार्डिओलाले भने फुटबलबाट केही समय विश्राम लिने परिवारसँग समय बिताउने र भ्रमण गर्ने आफ्नो योजना रहेको भन्दै महासंघलाई जानकारी गराएका छन्।
लगातार तीन पटक विश्वकपमा छनोट हुन नसकेको इटालीलाई फेरि लयमा फर्काउन महासंघले ग्वार्डिओलालाई मोटो तलबका साथै आफ्नो अनुकूल टोली निर्माण गर्ने पूर्ण स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो। तर केही समयको सोचविचार पछि उनले यो प्रस्तावमा 'नो' भनेका छन्।
ग्वार्डिओलाले अस्वीकार गरेपछि अब इटालीको पूर्व 'प्लेमेकर' आन्द्रे पिर्लो प्रशिक्षक बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन्।
हाल दुबईको युनाइटेड एफसीका मुख्य प्रशिक्षक रहेका पिर्लोलाई आगामी 'नेसन्स लिग' र सन् २०२८ को युरो कपमा इटालीलाई छनोट गराउने जिम्मेवारी मिल्न सक्ने देखिन्छ।